काठमाण्डौ -मौसमविद्ले देशभरको मौसम पानी नपरुजेजलसम्म सफा नहुने बताएका छन् ।
मौसमविद् मञ्जु बासी भन्नु हुन्छ तत्काल पानी पर्ने सम्भावना छैन त्यसैले मौसम सफा हुन अझै केही दिन लाग्न सक्छ । बंगलादेश आसपासमा बनेको न्यूनचापीय प्रणालीले हल्का पानी पर्ने सम्भावना रहे पनि यसको प्रभाव नगन्यरुपमा मात्रै रहने उहाँले बताउनुभयो । पानी परेपछि मात्रै मौसम सफा हुने भएकाले केही दिन यो सम्भावना कम देखिएको मौसमविद्को भनाइ छ ।
पानी पर्नका लागि पर्याप्त मात्रामा जलवाष्युक्त हावा प्रवेश हुनुपर्दछ । अहिले त्यो भएको छैन । यसवर्ष अहिलेसम्म हिउँदे वर्षा हुनसकेको छैन । दिउँसो राम्ररी घाम नलाग्दा तराईको जनजीवन बढी प्रभावित भएको छ ।
काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमा पनि बिहान हुस्सु र दिउँसो तुवाँलो लाग्ने गरेको छ । तराईका धेरै ठाउँमा दिउँसो अबेर मात्रै घाम देखिने गरेको छ ।
तराईमा बाक्लो हुस्सु लागे पनि यसलाई शीतलहर भन्न नमिल्ने मौसमविद् बासीले बताउनुभयो ।
चिसोले गर्दा बालबालिका र वृद्धवृद्धाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तो मौसममा उनीहरुको ख्याल गर्नुपर्ने डाक्टरको सुझाव छ ।