काठमाडौं – इरानले अलकायदालाई संरक्षण दिइरहेको आरोप अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले लगाएका छन् । उनले आतंककारी संगठनहरुको नयाँ घर बनिसकेको आरोप लगाए ।
अलकायदाका दोस्रा ठूला कमाण्डर अल–मसरी पछिल्लो वर्ष तेहरानमा मारिनुले यस कुराको पुष्टि गरेको उनले बताए । उनले भने, ‘इस्लामी गणतन्त्र ईरान अलकायदाको नयाँ घर बनिसकेको छ ।’
उनले जिहादी नेटवर्क अलकायदाका लागि आफ्नो जमिनलाई नयाँ ठेगाना बन्न दिएको भन्दै इरानको आलोचना गरे ।
मानिसहरुले शिया बाहुल्य ईरान र सुन्नी चरमपन्थी अलकायदालाई एकअर्काको दुश्मन ठान्नु गलत रहेको उनको दाबी छ । ईरानले २०१५ देखि देशमा रहेका अलकायदा नेताहरुलाई खुलेर अन्य सदस्यसँग कुराकानी गर्ने छुट दिएको आरोप पनि उनले लगाए । विदेशमन्त्री पोम्पेओका अनुसार हमला गर्ने, प्रोपोगान्ड फैलाउन र पैसा जम्मा गर्नेजस्ता कार्यका लागि यसअघि अफगानिस्तान र पाकिस्तानबाट निर्देशन आउने गरेको थियो । तर, अहिले ईरान अलकायदाको नयाँ ठेगाना बनेको उनको आरोप छ ।
उनले ईरान र अलकायदाको गठबन्धन अन्य देश र अमेरिकाको सुरक्षाका लागि अति खतरापूर्ण रहेको बताए । अलकायदाका दुुई नेताहरु मोहम्मद अबाटे उर्फ अब्दुल रहमान र सुल्ता युसुफलाई अमेरिकाले विश्वव्यापी चरमपन्थी घोषणा गर्न चाहेको उनले बताए । उनीहरु दुबै ईरानमा बसिरहेको उनको दाबी छ ।
यता ईरानले पोम्पेओको दाबीमा कडा आपत्ति जनाउँदै यसको खण्डन गरेको छ । ईरानी विदेशमन्त्री जवाद जरीफले पोम्पेओको दाबी झुठो रहेको र उनी युद्धा उन्मादमा रहेको आरोप लगाए ।