काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका हुन् । खरिद र वितरणका लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको उनले बताए ।
खोप आयात भएको ७ दिन भित्र वितरण शुरु भइसक्ने पनि उनले बताए । मन्त्री त्रिपाठीले खोप कार्यक्रमका लागि अहिले सञ्चालनमा रहेका करिब १६ हजार खोप केन्द्रहरुलाई परिचालन गरिने समेत स्पष्ट पारे । यस्तै ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविकाहरु परिचालन गरिने पनि उनको भनाई थियो ।
उनले भने– ‘खोप आउँछ । निश्चित रुपले हामी समयमै लगाउँछौं र यो अभियानको रुपमा जान्छ । न्यायपूर्ण ढंगले यसको वितरण हुन्छ । त्यसका अरु तयारीहरु भइसकेको अवस्था छ । करिब १६ हजार खोप केन्द्रहरु सञ्चालनमा रहेका छन्, तिनलाई परिचालन गरिनेछ । यस कार्यक्रममा खटनको लागि करिब ५ हजार कर्मचारी छन् र ५२ हजार महिला स्वंयसेविकाहरु परिचालन गर्ने अवस्था हामीसँग छ । भण्डारण हामीसँग पुग्दो छ । ढुुवानीको लागि पनि सुनिश्चित अवस्थामा पुर्याइसकेका छौं ।’
खोपको प्राप्ति अन्य व्यवसायिक वस्तुको प्राप्ति जस्तो नभई राजनीतिक वस्तुको रुपमा देखा परेकाले आपूर्तिमा समस्या भएको पनि बताए । तर पनि सरकारले खोप आयातका लागि राजनीतिक पहल गरिरहेको बताए । निजी क्षेत्रलाई पनि खरिद प्रक्रियाबाट टाढा राख्न नचाहेको मन्त्री त्रिपाठीले स्पष्ट पारे ।
पहिले सरकार सरकारबीच खरिद प्रक्रिया अगाडि बढाउने र त्यसपछि निजी क्षेत्रबाट समेत ल्याउन पहल गर्ने बताए । खोपको वितरण सबैभन्दा पहिला मुख्य जोखिममा रहेका स्वास्थ्यकर्मी लगायत अग्रपंतिमा रहेका व्यक्तिहरुलाई, ५५ वर्ष उमेर माथिका र दिर्घ रोगीहरुको लागि उपलब्ध गराइने बताए ।
उनले भने– ‘मुख्य जोखिममा रहेका जनसंख्या ३ प्रतिशत स्वास्थ्यकर्मी लगायत अग्रपंक्तिमा कार्यरत व्यक्तिहरुलाई, ५५ वर्ष उमेर माथिका र दिर्घ रोगीहरुको लागि र अर्को २० प्रतिशत जनसंख्यामा यस विषयमा तथ्याङ्क संकलन गर्ने कुरा केही पुरा भइसकेको छ भने केही लिने प्रक्रियामा छौं । कानूनी जटिलताहरु समाप्त भइसकेको अवस्था छ । आर्थिक रुपले अर्थ मन्त्रालयले रकम सुनिश्चित गरिसकेको अवस्था छ ।’
नेपालमा छिमेकी राष्ट्रमा भन्दा धेरै पछाडि खोप लगाउनुपर्ने अवस्था नआउने पनि मन्त्री त्रिपाठीले दावी गरे । खोपको खरिद प्रक्रियामा जे जति आशंकाहरु देखिएका छन् त्यसलाई झुटो सावित गर्ने पनि उनले बताए । आफूले रुस, भारत र युएईका राजदूतहरुसँग खोप ल्याउने सम्बन्धमा कुरा गरिसकेको र खोप उत्पादन गर्ने अन्य मुलुकहरुसँग पनि राजनीतिक पहल भइरहेको बताए ।