जनकपुर – नेकपा ओली समूहका युवाहरुको एक समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोलाई जनकपुरधाममा कालो झण्डा देखाएको छ ।
विघठित प्रतिनिधि सभाका सदस्यसमेत रहेका महतोले आफ्नै निर्वाचन क्षेत्रमा कालो झण्डाको सामना गर्नुपरेको हो ।
मधेशवादी दल परित्याग गरि नेकपा ओली समूहमा हालै प्रवेश गरेका मुञ्जय राउत नेतृत्वको समूहले महतोलाई विरोधसभामा प्रमुख आतिथिको आसन ग्रहण गर्न जाँदै गर्दा जनकपुरस्थित भानु चोकमा कालो झण्डा देखाएको हो ।
प्रधानमन्त्री ओलीले असंवैधानिक ढङ्गले संसद विघटन गरेको विरोधमा जनकपुरधाममा जसपाले आयोजना गरेको विरोधसभामा सहभागी हुने क्रमममा नेता महतोलाई प्रधानमन्त्री ओलीका समर्थकले कालो झण्डा देखाएका हुन् ।
विगतमा मधेस आन्दोलनको क्रममा नेता महतोले आन्दोलन सफल भएमा मधेसी शहिदको सपना पुरा गर्ने र शहिदका परिवारलाई ५०/ ५० लाख रुपैयाँ नगद राहत दिने घोषणा गरे पनि आफ्नो घोषणा कार्यान्वयनमा बेवास्ता गरेका कारण महतोलाई कालो झण्डा देखाएर विरोध गरिएको राउतले बताए ।