धुवाँबाट बचाउन सुधारीएको चुलो वितरण

सुर्खेत – स्थानीयलाई धुवाँबाट बचाउन सुधारीएको चुलो वितरण गरिएको छ । एसएनभी नेपाल र युएनडीपीको सहयोगमा निमार्ण गरिएको कम दाउरा लाग्ने धुवाँ रहित चुलो विशेष अनुदानमा वितरण गरिएको हो ।

एसएनभी नेपालका कार्यक्रम सुपरभाईजर चोकराज अधिकारीले सुधारीएको चुलोको प्रयोगले दाउरा प्रयोगमा कमिभई दाउरा जम्मा गर्न लाग्ने श्रम, समय र खर्चमा समेत कमि ल्याउन सकिने बताए । उनका अनुसार धुवाँबाट बच्न सुधारीएको चुलो आवश्यक छ । सुधारीएको चुलोले दाउराको खपत घटाउने, चुलोको कार्यदक्षता बढाउने र घर भित्रको धुवाँ कम गर्ने भएकाले सुधारीएको आधुनिक चुलो प्रयोग गर्न विज्ञहरुको पनि सुझाब छ ।

घर भित्र धुवाँ कम गराउन, घरको भित्ता, दलिन र लुगा फाटामा फोहोर कम गराउन पनि यो चुलो उपयोगी भएको सुपरभाईजर अधिकारीले बताए । उनले भने, ‘यो चुलो प्रयोगले धुवाँमा हुने हानिकारक कण र ग्यासको मात्रा धेरै हदसम्म घट्ने भएकाले दम, खोकी, निमोनीया, क्यान्सर, स्वाशप्रस्वास, फोक्सोका रोग, मुटु रोग, आँखा चिलाउने, मोतीबिन्दु र टाउको दुख्ने रोगबाट पनि बच्न सकिन्छ ।’

नेपाल बायोग्यास प्रबद्र्धन संघ कर्णाली प्रदेशका अध्यक्ष कृष्ण प्रसाद ढकालका अनुसार धुवाँ जन्य रोगका कारण औषधीमा लाग्ने खर्चमा समेत बचत हुन्छ । आरईटिएसबाट प्रमाणित वातावरण मैत्री आधुनिक चुलो विशेष अनुदानमा उपलब्ध गराउदै आएको उनले बताए । ‘यस चुलोको प्रयोगले वातावरण संक्षणमा समेत सहयोग पुग्नेछ’ उनले भने, ‘हाल चुलो सिमित मात्रामा भएकाले पहिलो चरणमा कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका जिल्लाहरुमा मात्रै उपलब्ध गराईने छ ।’