सुरक्षित सुत्केरी गराउने बढेसँगै मातृ तथा शिशु मृत्युदरमा निकै कमी आयो

 

डोटी – पछिल्लो समय डोटी जिल्लामा सुरक्षित सुत्केरी गराउने महिलाको सङ्ख्या बढेको छ । यहाँका दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौवटा स्थानीय तहका सबै स्वास्थ्य संस्थाले बर्थिङ सेन्टरमा गई सुरक्षित सुत्केरी हुने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

बर्थिङ सेन्टरमा सुत्केरी हुन आउन थालेपछि जिल्लामा मातृ तथा शिशु मृत्युदरमा निकै कमी आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीको तत्थ्याङ्कमा उल्लेख गरिएको छ । पछिल्ला वर्षमा बर्थिङ सेन्टरमै गएर सुत्केरी गराउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएपछि मातृ तथा शिशु मृत्युदर घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।
बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी हुन आउनेको सङ्ख्या महिनैपिच्छे बढ्दै जान थालेको स्वास्थ्य कार्यालय डोटीको तथ्याङ्कले देखाएको छ । जिल्लामा रहेका कूल ५२ स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।