पहाडबाट ढुंगो खस्दा घर ध्वस्त

कालिकोट – कालिकोट तिलागुफा गाउँपालिका ७ बालीगाडस्थित आठ सय मिटरमाथिको पहाडबाट खसेको ढुंगा लागेर स्थानीय भीमबहादुर विष्टको घर पूर्णरुपले क्षति भएको छ । कर्णाली राजमार्गसँग जोडिएको विष्टको घरमा सोमबार बिहान ८ बजे बालीगाडको पहाडबाट ढुंगा खसेको हो ।

ढुंगा खस्दा विष्टको आठ कोठे घर पूर्णरुपले ध्वस्त भएको छ । भने छिमेकीको घरमासमेत क्षति पुगेको छ । तिलागुफा नगरपालिकाको छाप्रेस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) खगिराम थारु मगरले घर पूर्णरुपले क्षति भएपनि मानवीय क्षति नभएको जानकारी दिए ।

उनका अनुसार विशाल ढुंगाले कर्णाली राजमार्ग केही समय बन्द भएको थियो । साथै ढुंगा लागेर त्यहाँस्थित पावर हाउसमा पनि क्षति पुगेको छ । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीका अनुसार ढुंगाले अवरुद्ध राजमार्ग खुलाईएको छ ।