सुर्खेत स्थित विभिन्न संघ संस्थामा आबद्ध भई व्यवसायमा अव्बल बन्दै गएका पदम बहादुर शाही नेपाल उद्योग बाणिज्य महासंघ, कर्णाली प्रदेश अध्यक्षमा फेरी निर्वाचित भएका छन् । महासंघमा उनको यो तेस्रो कार्यकाल हो । सुर्खेतमा विभिन्न कम्पनीहरुको डिलरसिप तथा सेवामुलक उद्यम होटेल व्यवसाय संचालन गर्दै आएका उनी एक सफल व्यवसायि हुन् । तर विभिन्न चुनौती र नीतिगत समस्याका कारण सोचेअनुसार कर्णालीका उद्योग व्यवसायि फस्टाउन नसकेको उनको भनाइ छ । औद्योगिक विकासमा कर्णाली सरकार गम्भिर नबन्दा ठुला लगानीकर्ता भित्रिन नसकेको उनले बताए । लगानीकै कमिका कारण कर्णाली औद्योगिक क्षेत्रमा पछि छ । यसैबिच उद्योग व्यवसायिको अवस्थाबारे पदम बहादुर शाहीसँग सत्यपत्रिकाकर्मी चन्द्रा कँडेलले गरेको कुराकानी :
कर्णालीका उद्योग व्यवसायिको अवस्थाबारे बताईदिनुहोस् न ?
कर्णालीमा उद्योग व्यवसायिको अवस्था पहिलेदेखि नै धेरै कमजोर हो । यहाँ उद्योगका लागि आवश्यक पूर्वाधार नहुँदा उद्योगमा प्रसस्त लगानी आउन सकेको छैन । तर थुप्रै साना तथा मझौला घरेलु उद्योगहरु प्रदेशका विभिन्न जिल्लामा सञ्चालन भएका छन् । हाल कोभिड १९ ले विश्व अर्थतन्त्र नै प्रभावित भएकोबेला उद्योग व्यवसायि पनि धरापमा परे । यसबाट कर्णालीका साना तथा घरेलु लघुउद्यमीहरु पनि प्रभावित भए । पहिले सुचारु भएर राम्रोसँग चलिराखेका उद्योग धन्दाहरु पनि कतिपय बन्द भएको अवस्था छ ।
भने कतिपय आंशिक रुपमा संञ्चालन भएको अवस्था छ । पछिल्लो सयम उद्योगको अवस्था त्यती सन्तोषजनक छैन । शसस्त्र द्धोन्द्ध, नाका बन्दी, भुकम्प, बाढी पहिरो हुदै अहिले आएर कोभिड १९ को प्रभाव छ । यी सबैकारणले उद्योग कलकारखाना र काम गर्ने श्रमिक प्रभाबित भएको अवस्था छ ।
कर्णालीमा ठुला लगानीकर्ता किन आउन सकेका छैनन् ?
ठुलो लगानी र ठुला लगानीकर्ताका लागि कर्णालीमा तुरुन्तै प्रतिफल दिने किसिमको अवस्था छैन । सम्भावनाका हिसाबले धेरै अवसर भएपनि त्यसको बजारीकरण, उत्पादन, लागत, पुँजी र कर्णाली प्रदेशका उद्यमी व्यवसायिको उद्योग गर्ने प्रयास कम छ । त्यो किसिमको क्षमतामा पनि समस्या छ । बाहिरका ठुला लगानी कर्ताहरुलाई ल्याउने कुरामा सरकारको नीति कमजोर छ ।
त्यस्तै सरकारले बनाउनपर्ने पूर्वाधार अन्तर्गत विद्युत, सडक, विमानस्थल तथा बजारको अवस्था पनि कमजोर छ । यी विभिन्न कारणले गर्दा ठुलो लगानीकर्ताहरु कर्णालीमा आउने सम्भावना विगतदेखि अहिलेसम्म कम देखिएको हो ।
भौगोलिक दृष्टिकोणले कर्णालीमा कस्ता खालको उद्योगको आवश्यकता छ ?
उद्योगको हिसाबले कर्णालीमा जलस्रोतको सम्भावना सबैभन्दा बढी भएकाले ठुला विद्युत आयोजना र त्यसपछि जडिबुटी र खनिजहरुको पनि त्यतिकै सम्भावना छ । साथै पर्यटन र कृषिमा औधोगिकरणको सम्भावना छ । कृषिको हिसाबले हेर्ने हो भने कर्णालीमा उत्पादन हुने खाद्य वस्तु अन्य प्रदेश तथा जिल्लामा हुदैन । त्यस्तै बहुमुल्य जडिबुटीसहित आयुर्वेदिक क्षेत्रमा पनि प्रदेश अघि नै छ । कर्णालीमा बढी भन्दा बढी औद्योगिक सम्भावना भएपनि लगानीकै कमिले स्थापना हुनसकेका छैनन् ।
कतिपयले कर्णाली बाहिरका उद्योगमा लगानी गर्ने तर महासंघको चुनाव यतैबाट लड्ने गरेका छन्। यो कत्तिको उपयुक्र हो ?
मैले अहिलेसम्म अन्यत्र लगानी गरेको छैन । कर्णालीमै लगानी गरेको छुँ । र आम्दानीका लागि प्रयासरत छु । केही साथिहरुले कर्णालीमा आयआर्जन गरेर अन्यत्र लगानी गर्ने र राजनीति यहाँ गर्ने गर्नुभएको छ । यो कुरा कर्णाली प्रदेशका लागि दुखद हो ।
हाल उद्योग व्यवसायिले भोग्नु परेका मुख्य समस्या के के हुन् ?
उद्योग व्यवसायिले अहिले भोग्नु परेको मुख्य समस्या सरकारको नीतिगत निर्णयकै समस्या हो । औद्योगिक क्षेत्रलाई सहज बनाउनका लागि हामीसँंग उद्योग संचालन गर्न ठाउँको अभाव छ । वीरेन्द्रनगरको जमिन धेरै मंहगो छ । यहाँ जमिन किनेर काम गर्न सकिने अवस्था छैन । त्यसैले उद्योगका लागि सबै भन्दा पहिले त सरकारले औधोगिक क्षेत्र निर्धारण गरेर औद्योगिक क्षेत्र निर्माण गर्नुपर्छ ।
त्यसैगरी विद्युतको धेरै समस्या छ । सानो सानो उद्योगलाई पनि विद्युत पुगिराखेको अवस्था छैन । अहिले पनि सरकारले लोडसेडिङ्ग अन्त्य भनेपनि सुर्खेतमा वत्तिको समस्या झेल्नु परिरहेकै अवस्था छ । विद्युत, सडक, राज्यको नीति नियम जस्ता पूर्वाधारको हिसाबले हामी कमजोर छौं । यी तमाम समस्याहरु उद्योगिहरुले झेल्न परेको छ ।
तपाई नेपाल उद्योग महासंघको कर्णाली प्रदेश अध्यक्षमा निर्वाचित हुनुभयो ? यो सहित तपाईको तीन कार्यकाल पनि हो ? तपाईलाई नै अध्यक्षमा निर्वाचित गर्नुको कारण के छ ?
म पहिलो कार्यकालमा निवार्चनबाट प्रतिस्पर्धा गरेर विजय भएँ । त्यसपछि अहिले सहित दुई कार्यकालमा निर्विरोध निर्वाचित भएँ । मलाई लाग्छ मैले कर्णाली प्रदेशप्रति गरेको माया, उद्योग व्यवसायिप्रति गरेको कामको आधारमा मलाई फेरी पनि यो अवसर दिनुभएको हो । र म उहाँहरुले दिएको जिम्मेवारी सफलता पूर्वक बहन गर्नेछँु । मलाई जिताउने साथिहरुको अपेक्षा पनि यही छ जस्तो लाग्छ ।
यस क्षेत्रमा हालसम्म गरेका काम के के हुन् ? र अबको योजना के छ ?
यो क्षेत्रको जुन सम्भावना छ यसलाई राज्यसामु चिनाउनपर्छ भन्ने उदेश्यले धेरै किसिमका प्रयास गरे । यो प्रदेशको उद्यमसिलतामा भएका समस्याहरुबारे तीन तहकै सरकारसँग राख्ने र उद्योग, व्यापारीक क्षेत्रका नीति निर्माणमा लबिङ गर्ने कार्य निरन्तर गरे । यसका साथै उद्योग व्यवसायिका सचिवालय व्यवस्थित गरे । म दोस्रो कार्यकाल हुदैगर्दा आफ्नो सचिवालय थिएन । यसका लागि भवन निर्माण गरी अहिले व्यवस्थित सचिवालय संचालन गरेको अवस्था छ । सातै वटा प्रदेश मध्य कुनै पनि प्रदेशमा भवन निर्माण हुनसकेको छैन । हामीले आफ्नै स्रोत र प्रयासबाट भवन निमार्ण गरेका हौं ।
त्यस्तै अन्य व्यबसायिहरुका जुन समस्याहरु छन् । ती समस्यामा केन्द्रित रहेर अहिलेको असहज अवस्थामा पनि काम गरीयो र आगामी दिनमा पनि हामीले गर्नुपर्ने काम गर्दे जानेछौं । यो क्षेत्रमा बाहिरी लगानी नभित्रिएसम्म ठुलो औद्योेगिक विकास हुने सम्भावना छैन । त्यस्तै नीति निर्माणमा पनि खरो रुपमा उत्रिनुपर्ने अवस्था छ । उद्योगलाई चाहिने कच्चा पदार्थ र पूर्वाधार अनि जनशक्तिमा पनि केन्द्रित भई योजना बनाएर काम गर्नेछौं । त्यसको लागि अबको एक महिनाभित्र कार्ययोजना बनाएर अघि बढ्ने सोच छ ।
सरकारी तवरबाट उद्योग संचालनका लागि के कस्ता प्रयास भएका छन् ?
पहिलो कुरा त उद्योग धन्दालाई चाहिने क्षेत्रको टुङ्गो सरकारले लगाउनुपर्छ । उद्योग संचालनका लागि पूर्वाधार निर्माण गर्नुपर्छ । विगतमा ठुलो औद्योगिक क्षेत्र निर्माणका लागि हामीले धेरै प्रयास गर्र्यौं । सरकारले गफ र छलफल धेरै गर्ने तर काम नगर्ने प्रवृति छ । औद्योगिक विकासमा सरकार जती केन्द्रित हुनुपथ्र्याे त्यो नभएको हामीले महशुस गरेका छौं । ठुला लगानी कर्णालीमा भित्र्याउन तिब्रताका साथ सरकारले काम गर्नुपर्छ र निजी क्षेत्रलाई सरकारले विश्वास दिलाउन सक्नुपर्छ । हाल सरकारी तवरबाट भन्दा निजी क्षेत्रबाट बढी उद्योग संचालन भएका छन् । तर सरकारी प्रयास जारी रहेको देखिन्छ ।
अन्त्यमा केही भन्नु छ ?
कर्णालीको औद्योगिक अवस्थालाई अघि बढाउन भन्दै विगतमा काम गर्छाै भनेर जलस्रोत, खानी, खनिज तथा अन्य क्षेत्रमा लिएका लाईसेन्स काम नगरी होल्ड गरिराखेका छन् । त्यस्ता व्यक्तिहरुका लाइसेन्स खारेज गरेर अन्य काम गर्न इच्छुक उद्योग व्यवसायिहरुलाई भित्र्याउने बातावरण सरकाले निर्माण गर्नुपर्छ भन्ने अनुरोध र आग्रह गर्दछु । र मेरो कार्यकालमा सबैको साथ पाए थप व्यवसायिक बृद्धिका काम गर्नुका साथै ठुला लगानीकर्ता भित्र्याउन पहल गर्नेछुँ ।