इराकमा अमेरिकामाथि इजरायलले हमला गरिरहेको इरानकाे दाबी


एजेन्सी – इरानका विदेशमन्त्री जवाफ जरिफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको उक्साहटमा नआउन आग्रह गरेका छन्। इजरायलले अमेरिकालाई इरानसँग युद्ध लड्न भन्दै उकासिरहेको, तर युद्ध भए आफूहरूले पनि देखाइदिने उनले चेतावनी दिएका छन्।

अमेरिकाले ड्रोन आक्रमण गरी जनरल कासिम सुलेमानीको हत्या गरेको एक वर्ष पूरा भइरहँदा इरानले अमेरिकालाई यस्तो चेतावनी दिएको हो। अमेरिकाले सुलेमानीलाई अमेरिकाले सन् २०२० जनवरी ३ मा इराकको बगदादस्थित विमानस्थलमा ड्रोन हमला गरी हत्या गरेको थियो।

इराकस्थित अमेरिकी सैन्य अखडामा पनि इजरायलले नै हमला गर्न लगाइरहेको र अमेरिकालाई इरानविरुद्ध भड्काइरहेको जरीफले दाबी गरेका छन्।

अमेरिकाले इरान समर्थित लडाकुमाथि इराकमा रहेका आफ्ना सैन्य अखडामा आक्रमण गर्ने गरेको आरोप लगाउँदै आएको छ। गत वर्ष इराकस्थित अमेरिकी दूतावासमा पनि यस्तै हमला भएको थियो। तर यो हमलाको जिम्मा अझैसम्म इरानसमर्थित कुनै लडाकु समूहले लिएको छैन।

विदेशमन्त्री जरिफले ट्विटमा लेखेका छन्, ‘इराकबाट प्राप्त नयाँ खुफिया सूचनाअनुसार इजरायलले नै अमेरिकी अखडामा हमला गरिरहेको छ। ताकि यसरी हमला गर्दा अमेरिकाले इरानमाथि युद्ध छेड्न सकोस् र यी हमला इरानले नै गरेको भन्ने लागोस्। राष्ट्रपति ट्रम्प! तपाईं यसतर्फ सचेत हुनुहोस्, कुनै पनि कदम चाले निकै खराब परिणाम निस्कनेछ।’

कासिम सुलेमानी मारिएपछि उनको स्थानमा पदोन्नति भएका इस्माल गानीले शुक्रबार आफ्ना कमान्डरको हत्या बदला लिन तयार रहेको बताएका थिए।

यस्तो चेतावनी दिएपछि अमेरिकाले परमाणु बम बोकेको बी–५२ बमवर्षक विमान मध्यपूर्वमा पठाएको छ। इरानलाई तर्साउन यो विमान पठाएको अनुमान गरिएको छ।