योजनाबद्ध र षडयन्त्रमूलक ढंगले संसद् विघटन गरियो : प्रकाश ज्वाला

सल्यान – नेपाल कम्युनिस्ट पार्टीका कर्णाली प्रदेश सहइन्चार्ज प्रकाश ज्वालाले योजनाबद्ध र षडयन्त्रमूलक ढंगले प्रतिनिधि सभाको विघटन गरिएको बताएका छन्। प्रधानमन्त्री केपी ओलीको एकल प्रयास र योजनाबाट मात्र नभई विदेशी शक्तिहरुको षडयन्त्रबाट विघटन भएको बताए।

बिहीबार सल्यान खलंगामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता ज्वालाले नेपालमा अस्थिरता कायम गर्ने, गणतन्त्र र संघीयतालाई असफल बनाउने प्रपञ्च रचिएको र उक्त प्रपञ्च असफल बनाउन आफूहरु सडकमा आएको बताए।

उनले भने, ‘अहिले ओलीले गरेको असंवैधानिक, अलोकतान्त्रिक संसद विघट्नविरुद्ध ओलीबाहेक सबै राजनीतिक दल, नागरिक समाज सडकमा आइसकेका छन्। सडकबाट संसद पुनर्स्थापना गराएरै छोड्छौं।​​’

अदालतले जनता र देशको भावनाअनुरूप नै निर्णय गर्नेमा आफू र आफ्नो पार्टी विश्वस्त रहेको उनले बताए। संसद पुनर्स्थापना नभए पनि संसद् बैठक आह्वान हुने र संसदको नियमित कामकारबाही सञ्चालन हुने ज्वालाले दाबीसमेत गरे।