ला लिगा : एथ्लेटिको मड्रिडले गेटाफेलाई हरायो


काठमाडौं – स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिड विजयी भएको छ। घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा एथ्लेटिकोले गेटाफेविरुद्ध १–० गोलको जित निकालेको हो।

एथ्लेटिकोको जितमा लुईस सुवारेजले गरेको गोल निर्णायक बन्यो। एनिक कारास्कोको पासमा सुवारेजले खेलको २० औं मिनेटमा गोल गरेका थिए। गएरातिको जितसहित एथ्लेटिको मड्रिड १४ खेलबाट ३५ अंक बनाएर अंकतालिकाको शीर्षस्थानमा छ। पराजित गेटाफे १७ अंकका साथ १४ औं स्थानमा छ।

गएरातिको अर्को खेलमा रियल मड्रिडले एल्चेसँगै १–१ गोलको बराबरी खेलेको छ। एल्चेको मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा रियल बराबरीमा रोकिएको हो। खेलको २० औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। यसका साथै पहिलो हाफमा रियल एक गोलले अघि रह्यो।

खेलको ५१ औं मिनेटमा एल्चेका लागि फिडेल चावेसले पेनाल्टी मार्फत् गोल गर्दै खेललाई बराबरीमा ल्याए। बराबरीपछि रियल १६ खेलबाट ३३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । एल्चे १५ औं स्थानमा छ। त्यस्तै ग्रानाडाले भ्यालेन्सियालाई २–१ले पराजित गरेकाे छ। यसै गरी सेल्टाभिगोले हुसैनालाई पनि २–१ ले नै हरायो ।