सीताको स्वास्थ्यलाभको कामना गर्दै ओलीले गरे प्रचण्डलाई फोन

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेका छन् । उनले बुधबार साँझ प्रचण्डलाई फोन गर्दै उपचाररत प्रचण्डपत्नी सीताको स्वास्थ्यलाभको कामना गरेका हुन् । त्यस्तै अर्थमन्त्री समेत रहेका नेकपा ओली पक्षका महासचि विष्णु पौडेल र नेता सुवास नेम्वाङ बुधबार साँझ मेडिसिटी अस्पताल पुगेर सीताको स्वास्थ्य लाभको कामना गरेका छन् ।

‘दुवै नेता मेडिसिटी पुगेर स्वास्थ्यलाभको कामना गर्दै प्रधानमन्त्रीले पठाएको स्वास्थ्यलाभको कामना सुनाउनुभयो । प्रधानमन्त्री स्वयंले पनि प्रचण्डलाई फोन गरेर स्वास्थ्यलाभको कामना गर्नुभयो’, महासचिव पौडेलका स्वकीय सचिव यम पाण्डेले  बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष समेत रहेका ‘प्रचण्ड’ की पत्नी सीता अस्वस्थ बनेपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको छ । सीता दाहाल केही वर्षदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । यसअघि उनको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा समेत उपचार भएको थियो ।