दैलेख प्रशासनले तोक्यो विराेध र प्रदर्शन गर्ने क्षेत्र

दैलेख – जिल्ला प्रशासन कार्यालय दैलेखले प्रदर्शन गर्ने क्षेत्र तोकेको छ । मनलाग्दी क्षेत्रमा गरिने प्रदर्शनले समस्या भएको भन्दै दैलेख सदरमुकामको हकमा दुई स्थान तोकेको हो ।

जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले सदरमुकामको हकमा काँडाचौर र टुँडीखेलमा मात्रै विरोध, जुलुस तथा प्रदर्शन गर्न निर्देशन दिएको छ ।

गृह प्रशासन सुधार मार्गचित्र–२०७४ को बुँदा ३० मा भएको व्यवस्थाअनुसार अन्य क्षेत्रमा प्रदर्शन गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए । ०७५ बैशाख ३ गतेको बैठकले नै विरोध, जुलुस तथा प्रदर्शन लागि जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरिसकेकोले अबदेखि हुने गतिविधिहरु तीनै क्षेत्रहरुमा सञ्चालन गर्न उनको आग्रह छ ।

‘विकसित राजनीतिक घटनाक्रमको समर्थन वा विरोधजन्य गतिविधि दिनहुँ भइरहेकाले जिल्लाको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै निश्चित क्षेत्र तोकेका हौं,’ सुनारले भने ।