बुटवल – विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी तुलसीपुर उपमहानगरपालिका र लुम्बिनी बौद्ध विश्वविद्यालयका विच सहमती गरिएको छ । स्थानीय तहले विश्वविद्यालयसँग सम्झौता गरेर शैक्षिक कार्यक्रम सञ्चालन गर्न थालेको यो पहिलो सहकार्य हो । नगरलाई शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि उपमहानगरपालिकाले मेट्रो कलेज सञ्चालनमा ल्याएको छ ।
विश्वविद्यालयका उपकुलपति डां ह्रदयरत्न वज्राचार्य र नगरप्रमुख घनश्याम पाण्डेका विचमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी आपसी सहयोगको समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । समझदारी पत्रमा उल्लेख भए बमोजिम यो वर्षबाट तुलसीपुरमा कानुन विषयमा स्नातक तहको कक्षा सञ्चालन हुने भएको छ । यो भन्दा अगाडी उक्त विषयको अध्ययन गर्नका लागि काठमाडौ या बुटवल जानुपर्नेै वाध्यता रहेको थियो । ‘पहिलो चरणमा कानुन विषयको अध्यापन सुरुवात गरेका छौ अर्को वर्षबाट इन्जिनियरिङ्गका कक्षाहरु सञ्चालन गर्ने हो ’ नगरप्रमुख पाण्डेले भने ।
विश्वविद्यालय र उपमहानगरपालिका विचमा भएको समझदारी पत्रमा बुद्ध दर्शन, शिक्षा, कला, संस्कृति, पुरातत्व, इतिहास,इन्जिनियरिङ्ग आदि बिषयमा अध्ययन, अनुसन्धान, एवम् प्रबर्धन कार्यको लागि एकले अर्कासंग सहकार्र्य गर्ने समेत उल्लेख गरिएको छ । उपमहानगरपालिकाले विश्वविद्यालयले सञ्चालन गरेको सबै कार्यक्रमहरु तुलसीपुर मेट्रो कलेज मार्फत सञ्चालन गर्न पाउने भएकोछ । सबै कार्यक्रमका लागि उपमहानगरपालिका आफैले नै आर्थिक व्यवस्थापन भने गर्नुपर्नेछ ।
समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले सामान्य जनताका सन्तानहरुले आफ्नै घर आँगनमा रोजाईको विषय पढ्न पाउन भनेर कलेजको सञ्चालन गरिएको वताए । उनले तुलसीपुरलाई प्राविधिक शिक्षाको हबका रुपमा समेत विकास गर्न लागिएको कुरामा जोड दिए । विश्वविद्यालयका उपकुलपती वज्राचार्यले स्थानीय तहसँग पहिलो पटक सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्न लागिएको वताए । उनले तुलसीपुर मेट्रो कलेजले कार्यक्रमलाई प्रभावकारी ढँगले सञ्चालन गर्नेमा आफु विश्वस्त रहेको समेत वताए ।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्य, तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता सुर्यवहादुर डाँगी, वडाध्यक्ष कुमार लामिछाने, कलेज प्रमुख वसन्त आचार्यको सहभागिता रहेको थियो ।