कुवेतबाट एक सय ५० जना महिला काठमाडौं आइपुगे, आजै एक सय ४९ आउँदैं

काठमाडौं -कुवेतले विभिन्न कसुरमा माफी दिएका नेपालीहरु आज स्वदेश फर्किएका छन् । आज कुवेतबाट पहिलो फ्लाइटमा १५० जना नेपाली महिला स्वदेश फर्किएका छन् ।

उनीहरुलाई नेपाली सेनाले राजधानीस्थित विभिन्न होल्डिङ सेन्टरमा लगेको छ । होल्डिङ सेन्टरमा व्यक्तिगत विवरण संकलन गरेपछि उनीहरुको चाहना अनुसार घर, होटल वा क्वारेन्टाइनमा पठाइने व्यबस्था मिलाइएको छ ।

आज नै कुवेतबाट १ सय ४९ जना महिलालाई लिएर अर्को जहाज पनि काठमाडौं आइपुग्दैछ । कुवेतबाट फर्कन चाहेका सात हजार ९९१ नेपाली मध्ये दुई हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् ।

कोरोना संकट व्यवस्थान केन्द्र (सीसीएमसी)ले मंगलबार कुवेतमा रहेका तीन सय जना नेपाली महिलालाई ल्याउन अनुमति दिएको थियो ।

कुवेतले भिसा नवीकरण नगरेका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा जरिवानामा परेका नेपालीसहित विभिन्न देशका विदेशी नागरिकलाई डिपोर्ट गरेको हो ।

अन्य देशका नागरिक आफ्नो देश फर्किसकेको भए पनि गएको अप्रिलदेखि आममाफी र डिपोर्टमा सहभागी भएका नेपालीहरु भने कुवेत सरकारले नै व्यवस्था गरेको सेल्टरमा बसिरहेका छन् ।

कुवेतले नै आममाफीमा सहभागीलाई खाद्यान्न लगायतको व्यवस्था गरेको छ । मेजखबरबाट