प्रधानमन्त्री पुनः राखे  उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव 

काठमांडौ- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पुनः राखेका छन्।

बुधबार वालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै ओलीले अबको प्रधानमन्त्री गौतमलाई बनाउनुपर्ने बताएको स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी शुब्बा गुरुङले सेतोपाटीलाई जानकारी दिए।

गुरूङका अनुसार ओलीले पार्टीका पहिलो तहका सबै नेता प्रधानमन्त्री भइसकेको भन्दै अब वामदेवको पालो आएको बताएका थिए।

यो बेला प्रधानमन्त्री किन फेर्नुपर्‍यो। यो लाइनका हामी सबै प्रधानमन्त्री भइसकेका छौं। यो लाइनमा नभएको उपाध्यक्ष मात्रै हो,प्रधानमन्त्रीको भनाई उदृत गर्दै गुरूङले भने, बनाउने हो भने अब उहाँलाई नै बनाउनुपर्छ।

बैठकको पहिलो लहरमा ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम बसेका थिए ।

अर्का स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले पनि प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको बताए।

उहाँले अलिकति कार्ड फ्याक्नुभयो। त्यहीँ क्रममा वामदेवको नाम लिनुभएको हो, पोखरेलले भने, हामी मध्येमा उहाँनै प्रधानमन्त्री नभएको अरू भइसकेका छन् भनेर आज पनि कार्ड फ्याक्नुभयो।’

यसअघि गत वैशाखमा पनि प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री पद छोड्नु पर्ने अवस्था आएमा गौतमका लागि छोड्ने बताएका थिए।

आउँदो महाधिवेशनसम्म पार्टी अध्यक्षसमेत नछोड्ने प्रधानमन्त्री ओलीले अड्डी लिएका थिए।

पार्टी एकताको कामलाई टुंगो लगाउने मेरो जिम्मेवारी हो। चैतमा महाधिवेशन हुन्छ त्यसपछि मात्रै मैले अध्यक्ष छोड्ने हो, प्रधानमन्त्रीको भनाई उदृत गर्दै स्थायी समिती सदस्य गुरूङले भने, महाधिवेशन माघमा पनि गर्न सकिन्छ। म त्यसका लागि समेत तयार छु। (सेताेपाटि)