विश्वव्यापी मानव विकास सूचकांकमा नेपालको सुधार नेपाल १४२ औँ स्थानमा

काठमाण्डाै –  विश्वव्यापी मानव विकास सूचकांकमा नेपालको सुधार देखिएको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपी ले बुधबार सार्वजनिक गरेको विश्वव्यापी मानव विकास सूचकांक प्रतिवेदन २०२० मा नेपाल १४२ औँ स्थानमा पुगेको छ । यसअघि सन् २०१८ मा नेपालको स्थान मानव विकास सूचकांकमा १४७ औँ स्थानमा थियो । यो वर्ष नेपालले पाँच स्थान फड्को मारेको छ ।

यूएनडीपीको प्रतिवेदन अनुसार अब नेपालको औषत आयु ७० वर्ष आठ महिना पुगेको छ । त्यस्तै, कुल राष्ट्रिय आम्दानीका आधारमा प्रतिव्यक्ति आय तीन हजार चार सय ५७ डलर छ । प्रतिवेदन अनुसार विद्यालयमा बिताउने समय १२ वर्ष आठ महिना छ । प्रतिवेदनमा बहुआयामिक गरिबी जनसंख्यामा ३४ प्रतिशत रहेको छ ।

त्यस्तै, १५ वर्ष माथिको जनसंख्यामध्ये रोजगारी प्राप्तको संख्या ८२।६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । नेपाल कूल जनसंख्यामध्ये ६५ प्रतिशत कृषिमा आधारित रहेको प्रतिवेदनले देखाएको छ । १९।९ प्रतिशत मानिस सेवा क्षेत्रमा संलग्न रहेको देखिएको छ ।

दक्षिण एसियाली देशमा भने नेपालको स्थान छैटौँ रहेको छ । सूचकांकको सबैभन्दा अगाडि श्रीलंका रहेको छ । श्रीलंका मानव विकास सूचकांकमा ७२ औँ स्थानमा छ । त्यस्तै, माल्दिभ्स ९५, भुटान १२९, भारत १३१, बंगलादेश १३३, पाकिस्तान १५४, अफगानिस्तान १६९ औँ स्थानमा छन् ।

प्रतिवेदनमा जम्मा ८९ समावेश रहेका छन् । मानव विकासमा दक्षिण एसियामा श्रीलंका सबैभन्दा अघि र अफगानिस्तान सबैभन्दा कमजोर देखिएको छ ।

प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकांक मूल्य ०।५८७ रहेको छ भने यो अघिल्लो वर्षको तुलनामा ०।०८ अंकले बढी हो । यूएनडीपीले सन् १९९० देखि मानव विकाससम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।

मानव विकास सूचकांक मापन गर्दा मुख्यतः औसत आयु, शिक्षा, प्रतिव्यक्ति कुल राष्ट्रिय आय मुख्य सूचकका रूपमा मानिन्छ । मानव विकास सूचकांकमा नेपालले पछिल्ला वर्षमा राम्रो प्रगति गरेको छ (उज्यालाे)