दियालोको सहारामा रात विताउनु  पर्ने बाध्यता हट्दा चिमाथका स्थानीय खुसी

मुगु –  जिल्लाको उत्तरपूर्वीमा पर्ने मुगूम कार्मारोङ गाउँपालिका–९ चिमाथमा जलविद्युत आयोजना सञ्चालनमा आएको छ । दियालोको सहारामा रात विताउन बाध्य स्थानीयहरु गाउँ नै झिलिमिली भएपछि खुसी भएका हुन् ।

राजनीतिक किचलोले अधुरै रहेको जलविद्युत आयोजना लामो सयमपछि निर्माण सम्पन्न गरेपछि सञ्चालनमा आएको छ । दुई सय २५ घरधुरी रहेको चिमाथ बस्तीमा १७ किलोवाट क्षमताको विद्युतले मात्र नभई छाईला चौर र माग्रीं बस्तीमा विद्युत सेवा पुगेको छ ।

घाँसे ओडार लघु जलविद्युत आयोजना निर्माण सम्पन्न भएपछि मुगूम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामा र जिल्ला समन्वय समितिका प्रमुख पुर्णबहादुर रोकायाको टोलीले उद्घाटन गरेका छन् । विद्युत गाउँमा पुग्नु ठूलो नभएकाले सही सदुपयोग गरेर विद्युत उपयोग गर्न अध्यक्ष लामाले स्थानीयलाई आग्रह गरे ।

आयोजना निर्माण गर्न एक कारेड बजेट लागेको घाँसे ओडार लघु जलविद्युत उपभोक्ता समितिका अध्यक्ष वीरसिंह बुढाले जानकारी दिए । उनकाअनुसार योमध्य वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ८१ लाख, ९१ हजार ६ सय तीन, गाउँपालिकाको १४ लाख र जनश्रमदानबाट ४५ प्रतिशत बजेट रहेको छ ।

दियालो बाल्दा स्वास्थ्यमा असर गर्थ्याे, वत्ती पुगेपछि थप सहज भएको स्थानीय आइतुकला बुढाले बताईन् । ‘आफ्नै पालामा विद्युत आउँला भन्ने सोचेको थिएन्,’ बुढाले भनिन्, ‘अध्यारोमा छामछुम गरेर बाहिर भित्र गर्नुपथ्यो, विद्युतले गाउँ झिलिमिली भएपछि एकदमै खुसी छु ।’