तिलोत्तमा हत्या प्रकरणः मारिनेमा १ महिला र ४ पुरूष

रुपन्देही-रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा भएको सामुहिक हत्याकाण्डमा ज्यान गुमाउने ५ जनाको परिचय खुलेको छ।

मारिनेमा १ महिला र ४ पुरूष रहेका छन्। उनीहरूको नाम खुलेपनि ठेगाना भने खुलेको छैन।

घटनामा मारिनेमा माधव मुसहर, जानकी मुसहर, पोसराज मुसहर, करूण चौधरी र आशिष चौधरी रहेका छन्।

मारिएका माधव(४० वर्ष) र जानकी(३७) श्रीमान-श्रीमती हुन् भने पोसराज(१४ वर्ष) अनाथ भएकाले फर्मका संचालक कृष्ण बहादुर पुनले मुसहर दम्पतीलाई पाल्न दिएका थिए।

यस्तै घटनामा मारिएका करूण र आशिषको उमेर १७ वर्ष रहेको छ।

करण सोही फर्मभित्रको एक घरमा बस्दै आएका थिए भने आशिष उनका साथी हुन्। कान्छी बजार घर भएका आशिष दुई दिनदेखि त्यहाँ बस्दै आएका थिए।

कान्छीबजारको मैनहवा स्थित स्थानीय कृष्ण बहादुरको गंगादेवी पशुफर्ममा उनीहरूको सबैको सामुहिक हत्या भएको हो।

घटनामा संलग्न भएका आशंकामा सुर्खेतका झसेन्द्र सिजांली(३२ वर्ष) पनि सोही फर्ममा काम गर्ने कामदार हुन्।

प्रहरीले उनलाई गोठको भुसमा लुकिरहेको अवस्थामा पक्राउ गरेको हो। उनको मानसिक अवस्था ठीक नभएको बताइन्छ।

प्रहरीले हाल घटनाको अनुसन्धान गरिरहेको छ।