रौतहट – पूर्वमन्त्री तथा काँग्रेसका निलम्बित सांसद आफ्ताव आलमका भाई महताव आलम पुर्पक्षका लागि कारागार चलान भएका छन् । संविधानसभाको पहिलो निर्वाचनको पूर्व सन्ध्या २०६४ चैत २७ गते भएको घटनामा मुछिएर १२ वर्षपछि पक्राउ परेका महताब आलमलाई आइतबार पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत रौतहटले आदेश दिएको हो । वादी–प्रतिवादी दुवैतर्फका वकिलहरूको एकहप्ता लामो बहसपछि जिल्ला न्यायाधीश .मणिराम न्यौपानेको इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दाको पक्षमा जिल्ला न्यायधीवक्ता शुभाषकुमार भट्टराई , सहायक न्यायधिवक्ताद्धय मनोहर लम्साल र रेगबहादुर बिष्टले बहस गरेका थिए । विपक्षीको तर्फबाट मजरुल हाक, अफताव आलम, सुनिल पोख्रेल, लालबाबु राय लगायतकाहरुले बहस गरेका थिए । आलमलाई प्रहरीले रौतहटको बंकुलबाट मंसिर २२ गते पक्राउ गरेको थियो ।
आलमविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रौतहटले विस्फोटक पदार्थ ऐन, २०१८, मुलुकी अपराधसंहिताको दफा (१७७) अन्तर्गत ज्यानसम्बन्धी कसूर (ज्यान मार्ने उद्योग) मा जन्मकैदको माग गर्दै मुद्दा दायर गरेको छ । महाताबलाई घटनाको मुख्य योजनाकार मानिन्छ ।
२०६४ साल चैत्र २७ गते राजपुरमा आफतावका काका शेख इद्रिशको घरमा बम बनाउने क्रममा बिष्फोट हुँदा धेरै मानिस हताहत भएका थिए । केही घाइतेलाई जिउँदै ईँटाभट्टामा जलाएको आरोपमा आलम दाजुभाई लगायत ११ जनामाथि प्रहरीले मुद्दा चलाएको छ । राताेपाटी