बाघको आक्रमणबाट ज्यान गुमाएका बर्दियाका ५ परिवारलाई १०/१० लाख राहत

बर्दिया – बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ। बाघ आक्रमणमा परि ज्यान गुमाएका बर्दियाको मधुवनका ४ जना र गेरुवाका १ जना गरी ५ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो।

डिभिजन वन कार्यालय बर्दियाले राष्ट्रिय वन क्षेत्रमा बाघ आक्रमणमा परी ज्यान गुमाएका मधुवन नगरपालिका क्षेत्रका ४ जनाका परिवारलाई प्रति परिवार १० लाखका दरले ४० लाख रुपैयाँ उपलब्ध गराएको छ। यस्तै बर्दियाको गेरुवामा निकुञ्जको बाघले आक्रमण गर्दा ज्यान गुमाएका व्यक्तिका परिवारलाई निकुञ्जले १० लाख रुपैयाँ राहत उपलव्ध गराएको हो।

मधुवन नगरपालिका-३ खातामा बाघ आक्रमणमा परी भदौ १८ गते विशाल वलीको ज्यान गएको थियो। यस्तै, कात्तिक ५ गते गंगा खत्री र कात्तिक ११ गते गते रमेश थारु र दिनेश थारुले बाघकै आक्रमणबाट ज्यान गुमाएका थिए। यस्तै, कात्तिक १५ गते बाघकै आक्रमणबाट बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ४ राजीपुरका लहानु थारुको ज्यान गएको थियो। गेरुवा क्षेत्रमा मान्छे मार्ने बाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा समेत लिइसकेको छ।

नेपाल सरकारको राहत प्रक्रिया अनुसार मृतकका हकवालालाई प्रति परिवार १०/१० लाखका दरले राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले बताए। डिभिजन वन कार्यालयले मंसिर २३ गते ४ जना मृतकका परिवारलाई राहत वितरण गरेको थियो भने बर्दिया राष्ट्रिय निकुञ्जले मंसिर २५ गते १ परिवारलाई राहत हस्तान्तरण गरेको हो।

नेपाल सरकारले नै निकुञ्जका वन्यजन्तु गाउँ पसेर स्थानीयको ज्यान लिएमा १० लाख रुपैयाँ राहत प्रदान गर्दै आएको छ। राहत हस्तान्तरण गर्दै बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले मध्यवर्ती श्रेत्रमा बसोबास गर्ने स्थानियहरु सचेत भएर बस्नुपर्ने बताए।

उनले निकुञ्जसंग सहकार्य गर्दै वन्यजन्तु संरक्षणमा हातेमालो गर्नसमेत स्थानीयलाई आग्रह गरेका छन्। पछिल्लो समय मानव र वन्यजन्तु बीच बढ्दै गइरहेकाले द्वन्द्व न्यूनीकरणका लागि समेत निकुञ्ज तथा स्थानीय सरकारबाट विविध प्रयास गर्दै आइरहेको जनाइएको छ। निकुञ्ज, मध्यवर्ती क्षेत्रका बासिन्दा, स्थानीय सरकार नागरिक लगायतको सक्रिय प्रयासमा मात्रै दिगो संरक्षण सफल हुने बताइएको छ।