काठमाडौं – पूर्वसांसद तथा पूर्वराजदूत कमानसिंह लामाले आफ्नो मृत्यु हुनुभन्दा केही दिनअघि आफ्नी कान्छी श्रीमतीलाई लामो वृतान्त लेखेका थिए।
सो वृतान्त लेखेको सात दिनमा उनको निधन भएको छ। त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका काभ्रेली नेता कमानसिंहको कोरोना संक्रमणका कारण निधन भएको हो।
६९ वर्षीय लामा चौंरी देउराली गाउँपालिका-७ का हुन्। उनको बुधबार दिउँसोसम्म स्वास्थ्य अवस्था राम्रै थियो।
लामा सुगरका बिरामी थिए। उनको बुधबार राति ११ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
लामाका दुई श्रीमती, एक छोरा र चार छोरी छन्। पारिवारिक स्रोतका अनुसार उनको कान्छी श्रीमतीसँग केही समययता खटपट थियो। सम्पत्ति भागबण्डाको विषयमा उनीहरूबीच खटपट भएको उनले लेखेको वृतान्तबाट बुझ्न सकिन्छ।
उनले वृतान्तको सुरूवातमा आमापछि दोस्रो माया गरेको बताएका छन्। तर, त्यो आज याम्बालिङरुपी बर्मुडाको ट्रयाङगलमा फसेको उनले उल्लेख गरेका छन्।
‘यसलाई सामान्य लोग्ने-स्वास्नीको झगडाको रूपमा लिँदै आफ्नो स्वास्नी आफैंले हात लिन सक्नुपर्छ भन्छन्, कति कुरुप सिलबरको डेक्ची कुच्चिएका कुरुप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरू,’ लामाले लेखेका छन्।
यसबाट उनको श्रीमतीसँगको सम्बन्ध बिग्रिएको बुझिन्छ।
लामाले श्रीमतीलाई आफूहरूको प्रेम ‘बर्मुडा ट्रयाङगल’मा फसेको लेखेका छन्।
‘मेरो निष्ठा स्वाभिमानको ट्रयाङगल, चलअचल भौतिक सम्पत्तिप्रतिको तिम्रो आशक्ति,’ उनले लेखेका छन्, ‘हाम्रोबीचको सामाजिक सम्बन्ध, स्थापित मूल्य मान्यता र त्यसमा आएको परिवर्तनले ल्याएका अन्तरविरोधहरू।’
लामाले आफूले सम्पत्ति सुम्पिए पनि स्वाभिमानप्रति खेलवाड गर्ने छुट नदिएको बताएका छन्।
उनले श्रीमतीलाई भनेका छन्, ‘तिमीले कुरा नबुझ्दा र तिमीले जानी-जानी धोका दिँदा मेरा केही सपना अधुरा नै रहने भए।’
राजनीतिक सपना नेताहरूले गोलखाडीमा पुर्याएको उनले बताएका छन्।
उनले आफू अस्पतालको रहँदा श्रीमतीको साथ नपाएको लेखेका छन्। ‘शैयामा जीवनको जीवन मरणको लडाइँको बेला मेरो श्रीमती म साथ हुन्न भने त्यो श्रीमती अझै श्रीमती भनिरहनु कतिको औचित्य?,’ उनले भनेका छन्, ‘लौ प्रिय गरिखान मनग्य गरिदिएको छु। मैले पूरा गर्न नसकेका अधुरा काम अरुसँगै पूरा गर।’
उनले २८-३० वर्ष साथै रहँदा ६-७ महिनाबाहेक ज्यादै सुखद् नै रहेको बताएका छन्। ‘यो ६-७ महिनाले मलाई गलायो किनकि मैले तिम्रो मायामा विश्वासघात पाएँ,’ लामाले भनेका छन्।
लामाले कुनै माध्यमले काम नगरेपछि सरमका साथ फेसबुकमा लेख्नुपरेको बताएका छन्। र अन्त्यमा उनले भनेका छन्, ‘यदि, कथम् म मरे मेरो काजक्रियामा तिमी र मेरो भाइ इमान सामेल नहुनु। यो मेरो बिन्ती।’ (सेतोपाटी)