सम्झौताको मिति सकिन लाग्दा समेत सुरु भएन कालोपत्रेको काम

जाजरकोट – सम्झौता मिति सकिन तीन महिना बाँकी रहँदासम्म मध्य पहाडी लोकमार्गको जाजरकोट खण्डमा कालोपत्रेको काम सुरु भएको छैन।

३० महिनाभित्र ३५ किलोमिटर सडकमा कालेपत्रे गरिसक्ने गरीे शर्मा, सिंह एण्ड ब्रदर्स जेभी काठमाडौंले ठेक्का लिएको थियो। सम्झौताअनुसार सडकको सात मिटर चौडाइ बनाएर कालोपत्रे गर्नु पर्ने छ। ठेकेदार कम्पनीका प्रतिनिधि विश्वास उप्रेतीका अनुसार १७ किलो मिटरको दूरीमा रहेको कुदु–गिमासम्म एक भाग र गीमा–छेडागाड नगरपालिकाको कार्कीगाउँ सम्म १८.५ किलोमिटरको अर्को भाग बनाई एकै पटक काम सुरु गरिए पनि अहिलेसम्म कालोपत्रे गर्न सकिएको छैन।

पहिलो चरणमा ४९ करोड २६ लाख रुपैयाँमा काम हुनेछ। अर्को भागमा ५० करोड ४७ लाख रुपैयाँको काम भइरहेको छ। त्यस्तै, कुदुदेखि थलहसम्म एकै जेभीले ठेक्का पाएको छ। अहिले मन्ता भीरमा कडा चट्टान काट्ने काम भइहेको उप्रेतीको भनाइ छ।

यसभन्दा अगाडि दैलेखको सिमानसम्म काम भइरहेको छ। ५५ किलोमिटरभित्र चिसो कम हुँन वित्तिकै कालोपत्रेको काम सुरु हुने ठेकेदार कम्पनीले बताएको छ। ३५ किलोमिटर सडकको ठेक्का लिएको मिति सकिन तीन महिना बाँकी छ भने अर्को खण्डको २४ महिना बाँकी छ। पाँचथरको चिवा भञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म एक हजार ७७६ किलोमिटर लम्बाई रहेको रहेको मध्य पहाडी लोकमार्ग जाजरकोटमा ८२ किलोमिटर रहेको छ।

मापदण्ड विपरीत सिमेन्ट र बालुवा प्रयोग

मापदण्डभित्र रही सिमेन्ट बालुवा प्रयोग नगर्दा जाजरकोट खण्डमा निर्माण भएको नाला, छेउछेउमा रहेका वाल भत्किएका छन्। प्राविधिकहरु गएर दुईपटक वाल भत्काएको बताएका छन्।

निर्माण कम्पनीले भने स्थानीयवासीलाई निर्माणको जिम्मा दिँदा बिगारेको आरोप लगाएको छ। अहिले पुरै सडक कच्ची कटान गरी फराकिलो बनाउने काम भएकाले त्यसमा गुणस्तर कम भएको प्राविधिकले बताएका छन्।

पुल आठ वर्षदेखि अलपत्र

मध्यपहाडी लोकमार्गअन्तर्गत भेरीनदी निर्माणधीन पुल आठ वर्षदेखि अलपत्र परेको छ। ठेकेदारको लापरबाहीले रुकुम पश्चिमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने पुलको जगसमेत पूरा नभएको हो।

पुल निर्माण अलपत्र परेपछि लोकमार्गको रुकुम–जाजरकोट खण्डसमेत अपूरो बनेको छ। तीन वर्षभित्र पुल निर्माण सक्ने गरी वाइपी कन्स्ट्रक्सन, ललितपुरले मध्यपहाडी आयोजना कार्यालयसँग २०६९ सालमा सम्झौता गरेको थियो। १३ करोड ४७ लाख रुपैयाँको लागतमा निर्माणाधीन पुलको अहिलेसम्म सबस्टक्चर (टावर जग) समेत पूरा भएको छैन। पुल निर्माण नहुँदा रुकुम र जाजरकोट सडक सञ्जालमा जोडिन सकेका छैनन् भने स्थानीयबासी झोलुंगे पुलबाट आवतजावत गर्न बाध्य छन्।

पुल निर्माणका लागि ल्याएका स्क्साभेटर, टिपर, मिक्सचरलगायत मेसिन निर्माणस्थल वरिपरि अलपत्र अवस्थामा छन्। गत आर्थिक वर्षमा ठेकेदार निर्माण स्थलमै नआएको भेरी नगरपालिका १३ का वडाध्यक्ष गोपाल बटालाले बताए। सडक विभागको पुरानो डिजाइनअनुसार काम गर्न समस्या भएपछि रिडिजाइन गर्दा निर्माणमा ढिलाइ भएको वाईपी कन्स्ट्रक्सनले बताएको छ।

म्याद पटकपटक थप्दा पुल निर्माणमा समस्या भएको मध्यपहाडी लोकमार्ग, योजना कार्यालय दैलेखका इन्जिनियर लक्ष्मणबहादुर केसीले बताए। उनका अनुसार चौरजहारी साइडमा पिलर तथा फाउण्डेसनको काम पूरा भए पनि कुदुतर्फको काम अझै हुन सकेको छैन। लोकमार्गअन्र्तगतकै कुदुदेखि दैलेखको सुयाँडा, जाजरकोट खण्डको छेडागाड थलह लगायत खोलामा पुल निर्माण अलपत्र परेको आयोजनाले जनाएको छ। त्यस्तै, छेडागाड नगरपालिकाको थलहमा समेत पुल निर्माण नहुँदा अलपत्र परेको छ। याे समाचार थाहाबाट साभार गरीएकाे हाे ।