एक सातामै भारतबाट फर्किएर क्वारेन्टाइन बसेका ६ जनाको मृत्यु तीन जनाको कोरोना नेगेटिभ

कैलाली—पछिल्लो एक सातामा सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएर क्वारेन्टाइन बसेका ६ जनाको मृत्यु भएको छ । चार जिल्लामा ६ जना भारतबाट फर्किएर क्वारेन्टाइन बसेकाहरुको मृत्यु भएको हो । उनीहरुमध्ये तीन जनाको कोभिड—१९ परीक्षण भएकोमा तीन जनाको रिपोर्ट नै नेगेटिभ आएको छ । तीन जनाको भने कोरोना परिक्षण बाँकी छ । आइतबार विहान डोटीमा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएको छ । केआईसिंह गाउँपालिका—३ वासुदेवीमा एक हप्ताअघि भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका १९ वर्षीय युवकको मृत्यु भएको हो । उनको सीताराम आधारभूत विद्यालयको क्वारेन्टाइनमा मृत्यु भएको स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ सम्पर्क व्यक्ति सुर्यबहादुर विष्टले बताए । युवक ७ दिन पहिले भारतको लुधियानाबाट आएका थिए । उनको कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि धनगढी पठाउने तयारी भइरहेको छ । शुक्रबार बैतडीमा भारतबाट फर्किएका एक जनाको क्वारेन्टाइनमा मृत्यु भएको छ । पाटन नगरपालिका—६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा बसेका सोही वडाकै ३१ वर्षीय पुरुषको मृत्यु भएको नगरका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । साँझ साढे ६ बजेतिर बेहोस भएका उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । उपचारकै क्रममा साढे ८ बजेतिर उनको मृत्यु भएको थियो । मृतकको कोभिड—१९ परीक्षणका लागि स्वाब संकलन गरिएको र स्वाब धनगढी ल्याइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले बताए । ज्यान गुमाएका पुरुष शनिबार बिहान मात्रै भारतको बैग्लोरबाट आएर क्वारेन्टाइनमा बसेका थिए । बैतडीमा यसअघि पनि क्वारेन्टिनमा राखिएकी एक महिलाको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माविको क्वारेन्टिनमा बसेकी २२ वर्षीया सुनिता लुहारको मंगलबार बिहान मृत्यु भएको नगरपालिकाका प्रवक्ता दले धामीले जानकारी दिए । मृतक लुहार मुटु रोगकी बिरामी थिइन् । मृतक लुहार जेठ १६ गते गौरिफन्टा नाकाबाट स्वदेश फर्किएकी थिइन । उनको भने कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका– ७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा पनि एक वृद्धको मृत्यु भएको छ । ६५ वर्षका वृद्ध जेठ १६ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका थिए । उनी भारतको हिमाञ्चल प्रदेश हुँदै नेपाल प्रवेश गरेको हुन् । पिसिआर जाँचपछि आएको रिपोर्टका आधारमा थप प्रक्रिया अगाडि बढाउने सहमति भएको खप्तड छेडेदह– ७ का वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए । शनिबार मृत्यु भएका वृद्धको शव व्यवस्थापन गरिएको छ । स्वाब संकलन गरेर धनगढी पठाएपछि सर्वपक्षीय सहमति र विज्ञको सुझावका आधारमा शव व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए । गैरे नेतृत्वमा गएको जिल्लाको टोलीले धेरै दिन शव राख्दा गन्हाउने र थप दुर्गन्ध फैलिने भएकाले दमको रोगी भएको भन्ने स्वास्थ्यकर्मीको जानकारीका आधारमा शवलाई व्यवस्थापन गरिएको हो । डडेल्धुरामा पनि भारतबाट फर्किएकी महिला र एक बालकको मृत्यु भएको छ । डडेल्धुरामा भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभूत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । उनी जेठ १८ गते कैलालीको त्रिनगर नाका भएर फर्किएकी थिइन् । श्रीमानसँगै शौचालय गएकी उनी एक्कासी बेहोस भएपछि मृत्यु भएको गन्यापधुरा गाउँपालिकाकी उपाध्यक्ष कमला ठगुन्नाले बताइन् । उनको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ । यस्तै, डडेल्धुरामै भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका अन्दाजी ७ वर्षीय बालकको मृत्यु भएको छ । डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका नवदुर्गा गाउँपालिका—३ का ७ वर्षीय बालकको मृत्यु भएको हो । आमा बुबासँगै भारतको मुम्बईबाट शनिबार मात्र फर्किएर क्वारेन्टाइनमा बसेका बालकको मृत्यु भएको डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । बालकको स्वास्थ्यमा समस्या आएको खबर पाउने बितिकै उपचारका लागि डडेल्धुरा अस्पताल लगिए पनि बाटोमै उनको मृत्यु भएको प्रहरी नायब उपरिक्षक न्यौपानेले जानकारी दिए । डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगदीशचन्द्र विष्टले बालकको अस्पताल पुगाउनु अघि नै मृत्यु भइसकेको जानकारी दिए । परिवारका अनुसार बालकलाई मलेरिया रोग लागेको थियो । कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।