च्याम्पियन्स लिग : रोनाल्डो र मेस्सी आमने सामने हुँदै

काठमाडाैं – युरोपियन (युइएफए) च्याम्पियन्स लिग फुटबलमा विश्व फुटबलका चर्चित हस्ती बार्सिलोना स्टार लियोनेल मेसी र क्रिस्टियानो रोनल्डो बुधबार राति पाैने २ बजे एक अर्काविरुद्ध प्रतिस्पर्धामा उत्रिँदैछन्।

रोनाल्डोले रियल छाडेपछि मेस्सी र रोनाल्डो सम्भवत: पहिलोपटक मैदानमा देखिँदैछन्

बार्सिलोनाको घरेलु मैदान नउ क्याम्पमा बहुप्रतिक्षित खेलमा दुबै टिम च्याम्पियन्स लिगको समूह चरणको समूह जिमा एकै समूहमा रहेर दोस्रो पटक खेल्दैछन्। पछिल्लो पटक २९ अक्टोबरमा बार्सिलोनाले युभेन्टसलाई २–० ले पराजित गरेको थियो। यो खेलमा मेसीले पेनल्टीमार्फत १ गोल गरेका थिए।

यद्यपि कोरोना पोजेटिभ देखिएपछि रोनाल्डोले त्यो खेल खेलेनन्। यो समूहमा बार्सिलोना ५ खेलमा शतप्रतिशत जित निकाल्दै १५ अंकका साथ शीर्ष स्थानमा छ।युभेन्टसले भने बार्सिलोनाबाहेक सबै खेल जितेर १२ अंकका साथ दोस्रो स्थानमा छ। डायनोमो किब र फेरेन्वारोसको भने समान १ अंक छ।

अन्तिम १६ मा दुवै टोली

​स्पेनिस टिम बार्सिलोना र इटालियन जाइन्ट युभेन्ट्स दुवै अन्तिम १६ का लागि छनोट भइसकेका छन्। भलै समूह विजेताको होडमा बार्सिलोना एक कदम अघि छ।

आजको खेलमा जित निकाले युभेन्टस समूहको शीर्ष स्थानमा पुग्नेछ। तर यो खेलमा उसले ३ या सोभन्दा बढी गोल गर्नुपर्छ।

युभेन्ट्समाथि बार्सिलोना हाबी

लिगमा दुवै टिमबीच अहिलेसम्म १० भिडन्त भएको छ। जसमा ४ पटक बार्सिलोनाले युभेन्ट्सलाई हराएको छ भने युभेन्टसले २ खेलमा मात्र बार्सिलोनालाई पराजित गर्न सकेको छ। यी दुई टिमबीच ४ पटक बराबरी भएको छ। दुई टिमबीच अहिलेसम्म कुल २० गोल भएका छन्। जसमा बार्सिलोनाले १२ गोल गर्दा युभेन्ट्सको नाममा ८ गोल मात्र छ।

पछिल्ला ११ बेलोन डिओर अवार्ड मेस्सी र रोनाल्डोको नाममा दर्ता भइसकेका छन्। मेसीले ६ पटक अवार्ड जित्दा रोनाल्डोले ५ पटक जितेका छन्।