सगरमाथा उचाइको भ्रम चिर्‍यौँ : मन्त्री ज्ञवाली

काठमाडौं – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले विश्वको सर्वोच्च सगरमाथाको उचाइबारे भ्रम चिरेको बताएका छन्। मंगलबार नापी विभागमा भएको सगरमाथाको उचाइ घोषणा तथा सम्मान समारोह कार्यक्रममा उचाइबारे विभिन्न तथ्यगत द्विविधा अन्त्य भएको बताएका हुन्।

नेपालले आफ्नो श्रोत, साधन र जनशक्तिले गरेको कार्य ऐतिहासिक उपलब्धि भएको ज्ञवालीले बताए। भने, ‘विभिन्न समयमा भएको सगरमाथाको उचाइ मापनले भ्रम पैदा गरेको थियो। अब नेपालले नै वैज्ञानिक ढंगले मापन गरेर सगरमाथाको उचाइ सामूहिक रुपमा घोषणा गरेको छ। अब यही आधिकारिक तथ्य हो।’

यसले नेपालीको प्राविधिक क्षमताको विकास भएको पनि उनले उदाहरण दिए।

कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले परनिर्भरताको अवस्थाबाट गुज्रिरहेकोमा आजबाट गर्वका साथ हाम्रो सगरमाथा नै संसारको सर्वोच्च शिखर हो भनेर सप्रमाण दाबी गर्न सक्ने गरी आत्मनिर्भरताको अवस्थामा पुगेको बताइन्।

​‘हामीले आफ्नै स्रोत साधनले उचाइ मापन गरेका हौँ,’ उनले भनिन्, ‘नेपालको गरिबी, बेरोजगारीको मात्रै चर्चा गर्नेहरुले हाम्रो प्रविधि र क्षमताको चर्चा गर्न थालेका छन्।’ पटक–पटक मापन गर्दा फरक उचाइ निस्किएकोमा अब भने नेपालले नै आधिकारिक उचाइ निकाल्न सफल भएको भन्दै उनले खुसी व्यक्ति गरिन्।

उनले भनिन्, ‘उचाइ मापन कार्य सकेर फर्किँदा अक्सिजन सकिएर झण्डै मृत्युको मुखमा पुगेका रवीन कार्कीलगायत टिमको यसमा ठूलो हात छ। तपाईंहरु ऐतिहासिक सफलताका हिस्सेदार हुनुहुन्छ।’ नापी विभागका महानिर्देशक प्रकाश जोशीले विभागले सर्वोच्व शिखर सगरमाथालगायत अन्य उच्च हिमाल क्षेत्रको कार्य सम्पादन गरिरहेको जानकारी दिए।

कार्यक्रममा सगरमाथा आरोहण गरेका खिमलाल गौतम, सुरज सिंह भण्डारी,युवराज धिताल र रवीन कार्कीलाई सम्मान गरिएको थियो। सगरमाथाको उचाइ ८८४८.८६ मिटर कायम भएको छ।

विश्वकै अग्लो हिमाल सगरमाथाको उचाइ हालै नेपालले नापी गरेपछि सो कायम हुन आएको हो। यसअघि नेपालले आधिकारिक रूपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको थियो।(थाहा)