खेल : उल्भसमाथि लिभरपुलको सहज जित

एजेन्सी – इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार रातिको खेलमा साविक विजेता लिभरपुलले उल्भरह्याम्पटन (उल्भस)लाई पराजित गरेको छ। घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले उल्भसलाई ४–० गोलले पराजित गरेको हो।

लिभरपुलको जितमा मोहम्मद सलाह, जर्जिनियो विनाल्डम र जोएल म्याटिपले १–१ गोल गरे। एक गोल भने उपहार स्वरुप प्राप्त भयो। जितसँगै लिभरपुल प्रिमियर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। उसले ११ खेलबाट २४ अंक जोडेको छ।

आइतबार रातिकै खेलमा आर्सनललाई २–० गोलले पराजित गरेको टोटेनह्याम हट्सपर समान ११ खेलबाट समान २४ अंक जोडेर शीर्ष स्थानमा छ। ११ खेलबाट २२ अंक जोडेको चेल्सी तेस्रो स्थानमा झरेको छ। लिभरपुलसँग पराजित उल्भ्स १७ अंकसहित दशौँ स्थानमा छ।