घुससहित सशस्त्रका सहायक हवल्दार पक्राउ

बुटवल – कपिलवस्तुको कृष्णनगरमा सशस्त्र प्रहरी सहायक हवल्दार घुससहित पक्राउ परेका छन्। घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस लिँदै गर्दा सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।

आयोगको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले ३५ हजार घुससहित उनलाई पक्राउ गरिएको रातोपाटीलाई बताए । उनकाअनुसार सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट कृष्णनगरमा कार्यरत सहायक हवल्दार गुरुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो । कृष्णनगर नगरपालिका २ गोलघरस्थित मिलन रेष्टुरेन्ट एण्ड दुर्गा गेष्ट हाउसबाट उनलाई नियन्त्रणमा लिएको भुसालले बताए ।