सुर्खेतमा मृत्यु भएका २० वर्षीय युवामा कोरोना पुष्टि, जेठ पहिलो साता भारतबाट आएका थिएँ

 सुर्खेत—सुर्खेतमा मृत्यु भएका एक युवकमा कोरोना पुष्टि भएको छ । क्वारेन्टाइनबाट घर फर्केका पञ्चपुरी नगरपालिका—१ सानीडाँडाका २० वर्षीय युवकको बिहीबार विहान मृत्यु भएको थियो । मृतक युवकको पिसिआर रिपोर्टमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको हो । कोरोनाको कुनै लक्षण नदेखिएको उनमा विहीबार दिउँसो प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कोभिड—१९ पोजेटिभ देखिएको हो । बिहीबार बिहान करिब सभा २ बजे श्वासप्रश्वासमा समस्या देखिएपछि मृत्यु भएको थियो । जेठ पहिलो साता भारतको मुम्बईबाट आएका उनी करिब २ साता जति क्वारेन्टाइनमा बसेको र आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि गएको बुधबार होमक्वारेन्टाइन बस्न सल्लाह दिएका कारण उनी घर फर्किएको पञ्चपुरी नगरपालिकाका नगर प्रमुख उपेन्द्र थापाले जानकारी दिए । स्वास्थ्यकर्मीले मृतक युवाको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन सुरु गर्ने तयारी गरेको पञ्चपुरी नगरपालिकाका नगर प्रमुख थापाले जानकारी दिए । मृतक युवकको शव व्यवस्थापनका लागि वीरेन्द्रनगरबाट नेपाली सेनाको टोली हिडेको उनले बताए । ‘ती युवासँगै अन्य ६ जना पनि सँगै बसेका थिए । हामीले नेपाल सरकारकोे मापदण्डअनुसार १४ दिन क्वारेन्टाइनमा राखेर आरडिटी परिक्षण गररे घर पठाएका हौं,’ नगर प्रमुख थापाले भने, ’घरमा सात दिन होम क्वारेन्टाइनमा बस्न सुझाव दिएर पठाइएको थियो । तर आडिटिको नतिजाको विश्वास गर्दा उनलाई बचाउन सकेनौ ।’ मृतक युवकसँगै कर्णालीमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । गत शनिबार दैलेखको दुल्लुमा क्वारेन्टाइनमा बसेका ३५ वर्षीय युवाको मृत्यु भएको थियो ।