कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि ९ अर्ब ८७ करोड रुपैयाँ खर्च

काठमाडौं । नेपालमा कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि सरकारले हाल सम्म झण्डै १० अर्ब रुपैयाँ खर्च गरेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण, उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीका अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारले गरी ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेका छन् ।

कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब ३ करोड, प्रदेशहरुबाट १ अर्ब ८ करोड र स्थानीय तहहरुबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको उनले बताए । अझै स्थानीय तहहरुले गरेको खर्चको पूर्ण विवरण नआएकाले यो बढ्न सक्ने उनको भनाइ छ ।

बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो । समिति बैठकमा लकडाउनलाई सहज बनाउँदै कसरी लैजान सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ ।

जनजीवन सहज बनाउँदै लकडाउनलाई कसरी लैजाने भन्ने विषयमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग पनि छलफल भएको छ । तहगत रुपमा लकडाउन खुकुलो पार्दै लैजाने गरी मस्यौदा तयार गरी सरकारलाई बुझाउने समझदारी पनि बैठकमा बनेको छ ।