नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजीको दरबन्दी थप

काठमाडौं- सरकारले संघीय प्रहरी र प्रदेश प्रहरीको संगठन संरचना (ओएन्डएम) स्वीकृत गरेको छ।

अघिल्लो मन्त्रिपरिषद बैठकले प्रहरीको ओएन्डएम स्वीकृत गरेको गृह स्रोतले बतायो।

गृह स्रोतका अनुसार ओएन्डएम मन्त्रिपरिषदबाट स्वीकृत भएको जानकारी बुधबार प्राप्त भएको छ। ‘अब हामी कार्यान्वयनको चरणमा जाँदैछौं,’ गृहका एक उच्च अधिकारीले सेतोपाटीसँग भने।

यससँगै अब नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र पाँच जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) थपिने छन्।

नेपाल प्रहरी र संघीय प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय)को पहिलो संशोधन अध्यादेश २०७७ प्रमाणीकरण गत असोजमै भएको थियो।

ओएन्डएम स्वीकृत भएसँगै संघीय राजधानी काठमाडौंको सुरक्षाका लागि अब ‘संघीय राजधानी प्रहरी’ गठन हुन्छ।

जहाँ अब प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी कायम भएको छ। हालसम्म तीन जना एआइजीको मात्र दरबन्दी थियो।

नयाँ दरबन्दी कायम भएसँगै प्रहरी अधिकारीहरूलाई बढुवाको बाटो खुलेको छ। एआइजी प्रतिस्पर्धामा डिआइजीहरू विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह, उत्तम सुवेदीलगायत छन्।

यस्तै, पाँच डिआइजीहरूमध्ये एक जनाका लागि साइबर ब्युरोमा दरबन्दी कायम गरिएको छ। बाँकी चार जना डिआइजी प्रधान कार्यालयमा रहनेछन्।

अब राजधानीको सुरक्षामा ‘संघीय राजधानी प्रहरी’ गठन हुन्छ। पहिले राजधानी बागमती प्रदेश मातहत थियो। अब राजधानीका तीन जिल्ला संघीय राजधानी प्रहरी मातहत रहने छन्।

संघीय राजधानी प्रहरी गठन हुने भएपछि हाल महानगरको अवधारणामा रहेको मेट्रो प्रहरी हट्छ। मेट्रोमा हाल प्रहरी नायब महानिरीक्षक (डिआइजी) दरबन्दी छ।

संघीय राजधानी प्रहरीअन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुर रहने छन्।

ती कार्यालय महानगरीय प्रहरी परिसरको रूपमा थिए। अब जिल्ला प्रहरी कार्यालय वा अन्य कुनै नाममा रहने छन्।

मन्त्रिपरिषदबाट स्वीकृत भएको १५ दिनभित्र प्रहरी किताबखानामा पद दर्ता गर्नुपर्ने नियम छ। किताबखानामा पद दर्ता भएपछि औपचारिक रूपमै प्रहरीमा दरबन्दी कायम हुनेछ।

नेपाल प्रहरीमा २६ डिआइजी दरबन्दीबाट गृहले १४ मा सीमित गरेको वर्ष दिन पुगेको छैन। ओएन्डएममा १९ जना डिआइजी दरबन्दी कायम गरिएको छ।

अहिले नेपाल प्रहरीमा ११ जना डिआइजी छन्। संख्या बढेर आएपछि अब ८ जना प्रहरी नायब महानिरीक्षक बढुवा गर्नुपर्ने हुन्छ।

यी आठ पदका लागि २१ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रतिस्पर्धामा छन्।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीकै २०४९ वैशाखको टोलीका अहिले पनि एसएसपी छन्। त्यसपछि २०४९ चैतका एसएसपीहरू बढुवाका दाबेदार हुन्। सेताेपाटीमा समाचार छ ।

प्रतिस्पर्धामा क्षत्रीको ब्याचका पुरुषोत्तम कँडेल, देवबहादुर बोहरा, गणेश ऐर, दिलीप चौधरी, राजेशलाल कर्ण, रामकृपाल शाह, उमेश रञ्जितकार, प्रकाश अधिकारी, शेखर कोइराला, किशोर दाहाल र शौरभ राणा बढुवा प्रतिस्पर्धामा छन्।

यस्तै, त्यसपछिको ब्याचका एसएसपी दिवेश लोहनी, मुकुन्द आचार्य, सुशील यादव, पूजा सिंह, नरबहादुर खत्री, मोहन आचार्य, नलप्रसाद उपाध्याय, विक्रम चन्द, मसउद खाँ आलम प्रतिस्पर्धामा छन्।