बालकलाई ठक्कर दिने मोटरसाइकल सहित दुई जना पक्राउ

बिहीबार कार्यालयमा पत्रकार सम्मेलन मार्फत पक्राउ परेकाहरु सार्वजनिक गर्दै प्रहरी

सुर्खेत – वीरेन्द्रनगरमा तीन बर्षीया एक बालकलाई ठक्कर दिएर भागेका दुई जनालाई मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर–५ चिसापानी तारामी टोल बस्ने १८ बर्षीया जीवन चौहान मगर र नविन भनिने १७ बर्षीया अमर सलामी रहेका छन् ।

उनीहरु संगै सवार लु ६२ प ७००३ नम्बरको एफजेटएसभिटु मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । कात्तिक २ गते जिल्ला प्रहरी कार्यालय अगाडिको बाटोमा मोटरसाइकलले बालकलाई ठक्कर दिएर उनीहरू भागेका थिए । मोटरसाइकलको ठक्कर पछि वीरेन्द्रनगर–१ का ३ वर्षीय बालक समिर नेपालीको मृत्यु भएको छ । ती बालकको २ गते नै उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस अघि बालकका आफन्तले पीडकलाई पक्राउ गर्न माग गर्दै बुधबार बिहान देखि नै आन्दोलन गरेका थिए । उनीहरु पक्राउ परे पछि बिहीबार देखि आन्दोलन भने स्थगित भएको छ ।

पक्राउ परेका उनीहरु माथि अहिले अनुसन्धान भइरहेकाले थप जानकारी आउने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमखु (एसपी) राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

घटना भए लगत्तै प्रहरीले सिसि क्यामराको फुटेज, भागेको रुडहरु र प्रहरीले कडा निगरानी पस्यात उनीहरुलाई पक्राउ गरिएको एसपी भट्टको भनाई छ । अनुसन्धान पस्यात उनीहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन अनुसार कारबाहि अघि बढ्ने प्रहरीले जानकारी दिएको छ ।