घर फोडेर लुटपाट, बैंक पुगेर एटिएमबाट नगद निकाल्ने व्यक्ति क्यामरामा रेकर्ड

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–२ बाँगेशीमलका जगतप्रसाद कँडेलको घर तोडफोड गर्ने एक व्यक्ति सीसीटिभी क्यामराले रेकर्ड गरेको छ । कार्तिक ३० गते साँझ कँडेलको घरबाट लुटपाट गर्ने ति व्यक्तिले एभरेष्ट बैंकको एटिएमबाट नगद ४० हजार समेत निकालेको रेकर्ड सीसीटिभी क्यामराले रेकर्ड गरेको हो ।

 

सीसीटिभी क्यामरामा रकेर्ड भएका व्यक्तिले सेतो जकेट लगाएका छन् भने चोरी गरेको एटिएम कार्डबाट पटक-पटक गरी ४० हजार नगद निकालेको स्पष्ट देखिन्छ । ति व्यक्ति बुधबार साँझ ७ १५ बजे एटिएममा पुग्छन् । क्याप टोपी लगाएका उनले मुखमा मास्क लगाएका छन् ।

एटिएममा निकै बेर लगाएपछि बैंक गार्डले समेत केरकार गरेजस्तो भिडियाेमा देखिन्छ । तर ति व्यक्तिले शुरुमा एक हजार नगद निकाल्छन । त्यसपछि क्रमश १५/१५ हजार निकालेको भिडियोमा रेकर्ड भएकाे छ ।

झण्डै १५ मिनेटसम्म एटिएममा विताएका उनी अन्तिममा फेरि एटिम प्रवेश गरेर नौं हजार निकालेर बाहिरिएका छन् । उनी बाहिरीएपछि बैंकका गार्डले एटिएम कक्षमा सेनेटाइज गरेको देखिन्छ ।

घरबाट समेत नगद र सुन चोरी
घरधनी कँडेलले बिहीबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सीसीटिभी क्यामराको भिडियोसहित उजूरी दर्ता गराएका छन् । उनकाअनुसार घरमा रहेको दराज फोडेर नगद ६५ हजार, सुन ६ तोला, झाला दुई थान, सिक्रि, मंगलसुत्र, बाला, रिङ र तिलहरी एक-एक थान चोरी भएको छ । यस्तै चामल ६२ बाेरा र चाउचाउ ४६ पेटी समेत चाेरी भएकाे कँडेल बताउँछन् ।

दराजमै रहेको एटिएम कार्ड कार्तिक ३० गते चोरी भएपनि बुधबार मात्रै उनले वीरेन्द्रनगर चौक नजिकै रहेको एभरेष्ट बैंकको एटिएमबाट नगद निकालेर फरार भएका हुन् ।

अनुसन्धान शुरु
जिल्ला प्रहरी कार्यालय सुर्खेतले निवेदन दर्ता गरे लगत्तै अनुसन्धान अघि बढाएको छ । एभेरष्ट बैंकको एटिएमबाट निस्केका ति व्यक्ति कता लागे भन्ने विषयमा अनुसन्धान गर्न बजारमा जडान गरिएको सीसी टिभी क्यामराको भिडियो खोजेको छ ।

उनी वीरेन्द्रनचौकबाट एटिएम प्रवेश गरेको रेकर्ड वीरेन्द्रचौकमा रहेका सीसी क्यामरामा देखिएका छन् । प्रहरीले बजारमा जडान भएका सीसी टिभी क्यामराको आधारमा चाडै चोर पत्ता लाग्ने अपेक्षा गरेको छ । बजार क्षेत्रका धेरै स्थानमा सीसी टिभी क्यामरा रहेकाले त्यसैको सहायताले अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । (नेपाली रैबार)