दाङ – दाङका एकजना कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १५ का ७५ वर्षीय पुरुषको नेपालगन्जमा रहेको भेरी अस्पतालमा मंगलबार बिहान मृत्यु भएको छ ।
बाँकेका जिल्ला फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ती पुरुषलाई कात्तिक २६ गते सन्चो नभएपछि शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । पीसीआर चेकजाँच गर्दा उनलाई कात्तिक २७ गते संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई भेरी अस्पतालमा सारिएको थियो ।
उनको स्वास्थ्य सुधार नआएपछि उपचारका क्रममा मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिएका छन् । मृतक मुटुका बिरामीसमेत रहेको श्रेष्ठले जनाए ।