किट अभावमा बैतडीमा कोरोना परीक्षणले गति लिएन

बैतडी : बैतडीमा भारतबाट फर्केका नागरिकको कोरोना परीक्षणका लागि आरडिटी कीट अभाव भएको छ। क्‍वारेन्टाइनमा ४ हजार ६ सय बढी नागरिक बसे पनि जिल्लामा ८ सय मात्रै आरडिटी कीट मौज्दात रहेको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए।  सबै पालिकामा पठाएको समेत गनेर अहिले जिल्लामा ८ सय कीट मात्रै मौज्दात छ। क्‍वारेन्टाइनमा बसेकाहरु भारतका बढी कोरोना प्रभावित क्षेत्रबाट फर्केका भए पनि कोरोना परीक्षण भने हुन सकिरहेको छैन। यसले जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन्।  क्‍वारेन्टाइनमा बसेकाहरुका आरडिटी मात्रै नभएर पिसिआर परीक्षण गर्नु उपयुक्त हुने मेलौली नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताए। जिल्लामा भारतबाट फर्कने नागरिकको संख्या बढ्दै गएपछि आरडिटी कीट पनि अभाव हुन थालेको स्वास्थ्य कार्यालयका प्रमुुख योगेशप्रसाद भट्टले बताए।  कीट अभाव भएपछि प्रदेश सरकारसँग कीट उपलब्ध गराउन माग गरिएको छ।