बँदेलकाे मासु अवैधरूपमा ओसारपसार गरेकाे आरोपमा तीनजना पक्राउ

सुर्खेत – संरक्षित वन्यजन्तु बँदेलजस्तो देखिने काँचो मासु अवैधरूपमा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले मासुसहित तीनजनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका-४ मूलपानी चोकबाट शनिबार प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

गाडी चालक बराहताल गाउँपालिका-८, का २७ वर्षीय अर्जुन गौतम, संरक्षित वन्यजन्तुको मासु प्राप्त गर्ने वीरेन्द्रनगर नगरपालिका-४ का ४५ वर्षीय प्रेम बुढामगर र चौकुने गाउँपालिका-८ का ३५ वर्षीय दीपेन्द्रराज गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कर्णाली प्रदेश ०२००१ ख ०२६२ नम्बरको सेतो रंगको फोर्स गाडीमा चेकजाँच गर्दा पाँच बोरा (१५२.५७ केजी) मासु बरामद गरेको प्रहरीको भनाइ छ । गाडीको छतमा लुकाइछिपाई राखिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।