वाइडेन विजयी हुँदा विद्युतीय कार निर्माताहरुमा खुशीयाली !

काठमाडौं – अमेरिकी निर्वाचनको अन्तिम मतपरिणाम अझै सार्वजनिक भएको छैन । यद्यपी राष्ट्रपति पदमा जो वाइडेन निर्वाचित भइसकेका छन् । उनले आगामी जनवरीबाट राष्ट्रपतिको पदभार ग्रहण गर्ने छन् । उनको विजयले विश्वभरका विद्युतीय कार निर्माताहरु खुसी भएका छन् ।

वाइडेनले निर्वाचनको समयमा भएका सभाहरु र प्रेसिडेन्टल डिवेटमा पनि अमेरिकाले जलवायू परिवर्तनको कारण आइरहेको समस्यासँग जुध्न लगानी गर्ने बताएका थिए । बाराक ओबामाको समयमा भएको ‘पेरिस सम्झौँता’मा अमेरिकालाई पुनः फर्काउने योजना उनले यसअघि नै सार्वजनिक गरेका थिए ।

सन् २०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै उनले जलवायू परिवर्तन सम्बन्धी भएको पेरिस सम्झौंताबाट अमेरिका अलग भएको घोषणा गरेको थिए । त्यति वेला ट्रम्पले विश्वमा सर्वाधिक प्रदुषण गर्ने चीन र भारत जस्ता देशले जलवायू परिवर्तन रोक्न लगानी गर्नु पर्ने र त्यसमा अमेरिकाले लगानी गर्न नसक्ने जनाएका थिए ।

ओबामाको राष्ट्रपति कार्यकालभरी उपराष्ट्रपति रहेका जोय वाइडेन अहिले राष्ट्रपतिमा निर्वाचित भएसँगै पेरिस सम्झौतामा अमेरिका पुनः फर्कने अनुमान गरिएको छ । उनको घोषणाले अत्याधिक प्रदुषण फैलाउने पेट्रोलियम पदार्थबाट चल्ने गाडीको विकल्पमा विद्युतीय गाडीको उपयोग बढ्ने अनुमान गरिएको छ ।

वाइडेन प्रशासनले विद्युतीय सवारीसाधनको प्रयोग बढाउन विशेष प्याकेज नै घोषणा गर्ने सम्भावना रहेको भन्दै विद्युतीय गाडी निर्माताहरु खुसी भएका हुन् । एजेन्सी/टेक्नोलोजीखबर