सुर्खेत – कर्णाली प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरेन्द्रनगर–८ निवासी ६० वर्षीय पुरुषको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
कार्तिक २३ गते कोरोना पुष्टि भएका उनि होम आइसोलेशनमा बसेका थिए । सास फेर्न कठिनाइ भएपछि कार्तिक २४ गते प्रदेश अस्पताल भर्ना गरिएको थियो ।
अस्पताल भर्नाहुँदा अक्सिजन स्याचुरेसन न्यून रहेको र उनलाई आकस्मिक तथा अन्य उपचारका साथै अक्सिजन दिएपनि बचाउँन नसिकएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
आज विहान अक्सिजन स्याचुरेसन घट्दै गएको र छातीमा थिचेर ब्युँताउने प्रयास गरिएपनि स्वास्थ्य अवस्थामा सुधार नभएपछि आज विहान ४ बजे उनको मृत्यु भएको कँडेलको भनाई छ ।
उनको शव व्यवस्थापन गर्न जनस्वास्थ्य सेवा कार्यालयको समन्वय तथा नेपाली सेनाको सहयोगमा तयारी भइरहेको छ । योसंगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।