सुर्खेत – मिडिया एक्सन नेपालकालका अध्यक्ष लक्ष्मणदत्त पन्तले नेपाली अखबारले यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयलाई प्राथामिकता दिएर प्रकासन नगरेको बताएका छन्।
मिडिया एक्सन नेपालले पत्रकारहरुका लागि आयोजना गरेको कोभिड १९ महामारीका सन्दर्भमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी मिडियाको क्षमता अभिवृद्धिसम्बन्धी दुईदिने तालिमकाको अवसरमा उनले यस्तो बताएका हुन् ।
मिडिया एक्सन नेपालले पछिल्लो तीन महिना गरेको अध्ययनमा नेपाली अखबारले यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयलाई प्राथमिकताका साथ प्रकाशित नगरेको उनको भनाई छ । नेपाली अखबारले यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे कति र कस्ता समाचार सामग्री प्रकाशन गरिरहेका छन् भन्ने विषयमा पछिल्लो तीन ( साउन, भदौ र असोज ) महिनाका प्रतिनिधिमूलक छापामाध्याम समावेश गरि अध्ययन गरिएको थियो । उनिले भने, ‘अध्ययनमा समावेश गरिएका पत्रपत्रिकाले ०.५८ प्रतिशत मात्र यौन तथा प्रजनन स्वास्थ्यबारे समाचार सामग्री प्रकाशित गरेको पाईयो ।’
नेपाली मिडियाको प्रवृत्ति राजनीतिक विषय केन्द्रित रहेको उनि बताउछन् । जीवनको अत्यन्तै महत्वपूर्ण स्वास्थ्य अधिकार, जनस्वास्थ्यमाथिको पहुँच र अधिकारको प्रयोग गर्ने विधि जस्ता विषय नेपाली मिडियाको प्राथमिकतामा परेको देखिदैन ।
अझ यौन र प्रजनन् स्वास्थ्यलाई नेपाली मिडियाले खासै चासो समेत राख्ने गरेको पाईंदैन । त्यसैले मानव जीवनका लागि अति महत्वपूर्ण यौन र प्रजनन् स्वास्थ्यको सवाललाई नेपाली मिडियाले कस्तो स्थान दिँदै आएको छ ? प्रकाशित गरिएका समाचार/ सामग्री कुन प्रकृत्तिका छन् भन्ने विषयमा केन्द्रित भएर यो अध्ययन गरिएको हो । उनले भने, ‘अध्ययनको अवधिभर छापा संचार माध्याममा ४ हजार ७ सय ९८ समाचार सामग्री प्रकाशित भएका थिए ।’
जसमध्ये यौन तथा प्रजनन स्वास्थ्यबारे २८ वटा मात्रै समाचार प्रकाशित भएको पन्तले जानकारी दिए । उक्त अध्ययनमा कान्तिपुर दैनिक, नयाँ पत्रिका दैनिक, गोरखापत्र दैनिक, ब्लास्ट दैनिक, जनकपुर टुडे दैनिक, थाह सन्देश दैनिक, समाधान दैनिक, युग आह्वान दैनिक र पश्चिम टुडे दैनिकलाई समावेश गरिएको थियो। धेरैजसो प्रकाशित भएका समाचार सामान्य सूचना प्रदान गर्ने किसिमका मात्रै भएकाले सञ्चारमाध्यमले यसका मुद्दालाई पनि प्राथमिकता दिनुपर्ने पन्तको भनाई छ ।