एकैदिन थपिए १ सय ५६ जना कोरोना पुष्टि, हजार नाघ्यो संक्रमितको संख्या

काठमाडौं—नेपालमा थप १५६ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाकाअनुसार पछिल्लो २४ घण्टाभित्र कोरोना पोजेटिभ देखिनेहरुमा रौतहटका २० जना, दैलेखका ८ जना, झापाका २५ जना, सुर्खेतका १३ जना, धनुषा २९, सर्लाहीका ७ जना, महोत्तरीका १७, सप्तरीका १४ जना, सिरहा ६, स्याङ्जाका ३ जना, दोलखाका २ जना, कैलालीमा २ र बर्दियामा ३ जना बाँकेमा १ जना, दार्चुलाका १ जना, मकवानपुरको हेटौँडामा १ जना,बझाङका १ जना, सोलुखुम्बुका १ र नवलपरासी पूर्वका १ जना रहेका छन्। नेपालमा एकैदिन यति धेरैमा कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो ।

पछिल्लो समय नेपालले कोरोना परीक्षण प्रयोगशालाको संख्या र परीक्षणको दायरा बढाएसँगै कोरोना संक्रमित पुष्टि हुने संख्या पनि बढिरहेको छ । यससँगै नेपालमा संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । जसमध्ये १ सय ८७ जना निको भएका छन्। संक्रमितहरुमा पुरुष ९४० जना र महिला १०२ जना छन् । हालसम्म देशका ५१ जिल्लामा संक्रमण देखिएको छ । ललितपुरका ५६ वर्षीय कोरोना संक्रमित पुरुषको गएको बुधबार किष्ट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएसँगै नेपालमा मृतकको संख्या ५ पुगेको छ।