राजमार्गका पुल निर्माण पूरा नहुँदा समस्या

जुम्ला । कर्णाली राजमार्गका पक्की पुल निर्माण पूरा नहुदाँ यात्रुलगायत सवारी साधानका चालकलाई सास्ती भएको छ ।

सो सडकको दैलेख र कालीकोट खण्डका ७ पुलको निर्माण अझै पूरा नहुँदा यात्रुले वर्षेनी सास्ती भोगिरहेका छन् । सडक डिभिजन कार्यालयका जुम्लाका अनुसार कालिकोटमा ३ र दैलेखमा ४ पुलको निर्माण अझै पूरा भएको छैन ।

दैलेखको पाल्तडामा खोला नै नभएको ठाउँमा पुुल बनेको छ । जहाँबाट कर्णाली करिडोर जाने बाटो छुट्टिन्छ । कालीकोटको तिलागुफा–८ स्थित टाकुल्लाखोलामा पुल निर्माणको काम ७ वर्षदेखि अलपत्र छ । दुई वर्षदेखि ठेकेदार सम्पर्कविहीन भएपछि पुल निर्माण अलपत्र परेको डिभिजन प्रमुख लीला भण्डारीले बताए ।

‘दैलेखको घट्टेखोला, राकमखोला, जाक्सीखोला र सेरिघाटखोला पुल पनि ठेकेदारको लापरवाहीले अलपत्र परेका छन् ।’ उनले भने, ‘सेरिघाटस्थित तिला नदीमा नेपाली सेनाको निर्माण कार्यदलले १५ वर्षअघि निर्माण गरेको बेलीब्रिज जीर्ण बनेको छ । १० वर्षसम्म प्रयोग गर्न मिल्ने भए पनि उक्त पुल विस्थापित नहुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।’ रासस