मुलुकभर साढे पाँच हजारभन्दा बढी नमुना होल्डमा

काठमाडौं—कोभिड—१९ प्रयोगशालाले समयमा रिपोर्ट दिन नसक्दा बाँच्न सक्ने बिरामीहरु पनि साधारण उपचारसमेत नपाएर मर्ने अवस्थामा पुग्न थालेका छन् । मुलुकभरका प्रयोगशालामा पिसिआर परीक्षणका लागि संकलन गरिएको नमुना (स्याम्पल) क्षमताभन्दा बढी भएपछि रिपोर्ट आउन समय लाग्न थालेको अधिकारीहरुले बताएका छन् ।

२४ देखि ३६ घण्टा भित्र रिपोर्ट दिन सक्छौं भनेका प्रयोगशालाहरुले एक हप्तासम्म पनि रिपोर्ट दिन सकेका छैनन् । हाल देशभर ५ हजार नमुना प्रयोगशालामा होल्ड भएर बसेका छन् । मापदण्डभन्दा बाहिर गएर स्थानीय तहले नमुना संकलन गर्दा परीक्षण गर्नैै नसक्ने गरी थुप्रिएको मन्त्रालयका अधिकारी बताउँछन् ।

केन्द्रीय प्रयोगशालाकी निर्देशक डा. रुणा झाले केन्द्रिय प्रयोगशालामा २ हजारभन्दा बढी नमुना होल्ड भएर बसेको बताइन् । केन्द्रीय प्रयोगशालाले दैनिक १५ सय बढी नमुना परीक्षण गर्दै आएको छ । अहिले देशभर २० वटा कोभिड प्रयोगशाला संचालनमा छन् । कोरोना जाँच गर्न प्रभावित देशबाट आएको हुनुपर्छ ।

उसलाई १०४ डिग्री निरन्तर ज्वरो, सुख्खा खोकी, जोर्नी दुख्ने, संक्रमितको सम्पर्कमा रहेका व्यक्ति, ६० वर्ष माथिका वृद्धवृद्धा त्यसमा पनि बिरामी भएकाको मात्रै कोरोना जाँच गरिन्छ । तर, यो मापदण्डभन्दा बाहिरका व्यक्तिको बढी नमुना संकलन भएपछि नमुना परीक्षणमा समस्या आएको हो ।

प्रयोगशालामा माइनस ४ डिग्री सेन्टिग्रेडमा राखेको नमुना ७२ घण्टाभित्र परीक्षण गरिसक्नुपर्छ । माइनस ८० डिग्री सेन्टिग्रेडमा भने जति समय पनि राख्न सकिने प्रयोगशालाकी निर्देशक डा झाले बताइन् । स्रोतका अनुसार वीर अस्पताल र पाटन अस्पतालले परीक्षणमा खुलेर सहयोग नगरेको बुझिएको छ ।