खेल जीवनबाट वाट्सनको संन्यास

काठमाडौं – अस्ट्रेलियन अलराउन्डर सेन वाट्सनले आफ्नो खेलजीवनबाट संन्यास लिएका छन् । यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) चेन्‍नई सुपर किङ्सबाट खेलेका उनले सोमबार कुनै प्रतियोगिता नखेल्ने भन्दै खेल जीवनबाट संन्यास लिएका हुन् ।

अब उनले क्रिकेटका कुनै पनि प्रतियोगिता खेल्ने छैनन् । उनले आइतबार राति आईपीएलमा चेन्‍नईले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेसँगै संन्यासको घोषणा गरेका जनाइएको छ ।

वाट्सनले अन्तर्राष्ट्रिय क्रिकेटबाट २०१६ मा संन्यास लिएका थिए । त्यसपछि आईपीएललगायत केही प्रतियोगिता खेल्दै आएका थिए । तर, अब भने उनले क्रिकेट खेलाडीको रुपमा आफ्नो करियरको बिदाइ गरेका छन् ।

वाट्सनले आईपीएलमा तीन टोली चेन्‍नई सुपर किंग्स, राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेलिसकेका छन् । उनले राजस्थान र बैंग्लोरको कप्तानीसमेत गरेका छन् । वाटसनले चेन्‍नई र राजस्थानका लागि आईपीएलसमेत जितेका छन् । उनले २०१८ को आईपीएल उपाधि चेन्‍नईले जित्दा फाइनलमा सनराइजर्स हैदराबादविरुद्ध ११७ रनको शतकीय पारि खेलेका थिए । यस्तै प्रतियोगिताको पहिलो संस्करण २००८ मा राजस्थानका लागि फाइनलमा चेन्‍नईविरुद्ध २८ रन र एक विकेट लिँदै उपाधि जितेका थिए ।

२०१६ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका उनले अस्ट्रेलियाका लागि ५९ टेस्ट खेल्दै ३ हजार ७३१ रन बनाएका छन् । त्यस्तै १९० एकदिवसीयमा ५ हजार ७ सय ५७ रन बनाएका छन् । अस्ट्रेलियाका लागि ५८ टी-२० खेलेका उनले १ हजार ४६२ रन बनाएका छन् । वाटसनले टेस्टमा ७५, वानडेमा १६८ र टी २० मा ४८ विकेट लिएका छन् । (बाह्रखरी)