एक्सन एडद्वारा स्वास्थ्य मन्त्रालयलाई पीपीई हस्तान्तरण

काठमाडौं – एक्सन एड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको छ ।

एक्सन ऐड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएकी हुन् । हस्तान्तरण कार्यक्रममा कार्यकारी निर्देशक माथेमाले समाज कल्याण परिषद् र महिला बालबालिका तथा ज्‍येष्‍ठ नागरिक मन्त्रालयसँगको समन्वयमा ९ हजार ४ सय ५७ सेट पीपीई उपलब्ध गराइएको बताइन् ।

जसको मूल्य करिब एक करोड ६२ लाख रुपैयाँ रहेको पनि उनले बताइन् । कोभिड रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि पीपीई सेट अनिवार्य भएकाले आफूहरुले मन्त्रालयमार्फत सहयोग गरेको बताइन् ।

संक्रमणको दर उच्च भएका क्षेत्रमा आफूहरुले उपलब्ध गराएको पीपीई सेट प्रयोग हुने विश्वाससमेत कार्यकारी निर्देशक माथेमाले व्यक्त गरिन् । एक्सन एडले नेपालमा झन्‍डै ३९ वर्षदेखि काम गर्दै आएको छ । (बाह्रखरी)