पर्याप्त सामग्री नआउँदा व्यवसायी मारमा

काठमाडौं – पटकपटक बन्द हुँदै खुल्दै गरेको तातोपानी नाका गत बिहीबारबाट पुनः सुरु भएको छ । तर चिनियाँ पक्षले पर्याप्त सामग्री नपठाउँदा नेपाली व्यवसायी मारमा परेका छन् । चिनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै थोरै सामान पठाउँदा सिजनमा आउनुपर्ने सामग्री ढिलो आउने सम्भावना बढेकाले व्यवसायीहरु चिन्तित देखिन्छन् ।

कोभिड संक्रमणको जोखिमका कारण नयाँ मापदण्ड तयार गरी तातोपानी नाका खोलिएको छ । नयाँ मापदण्डअनुसार काम गर्नका लागि नेपालतर्फको भन्सारमा २५ भन्दा बढी चिनियाँ कन्टेनरबाट नेपाली कन्टेनरमा समान पल्टी गर्न सकिने यार्ड तयार गरिएको छ । एक चिनियाँ कन्टेनर सामानले नेपालतर्फको दुईदेखि तीन कन्टेनर सामान भरिन्छ । यदि पूर्ण क्षमतामा सामान आयात हुने हो भने दैनिक ५० भन्दा बढी नेपाली कन्टेनर आउन सक्नेछन् । तर नाका खुलेको पहिलो दिन दुई कन्टेनर र दोस्रो दिन चार कन्टेनर मात्रै समान आएको थियो ।

चिनियाँ पक्षले स्वास्थ्य सुरक्षाको कारण देखाउँदै थोरै सामग्री पठाउँदा आफूहरु मर्कामा परेको नेपाली व्यवसायी विजय शेर्पाले बताउँछन् । सामान ढिलो आउँदा स्याउलगायतका खाद्य सामग्री कुहिन थालेकाले नाकालाई निरन्तर खुला गर्नुपर्ने उनले बताए ।

नाकालाई पूर्ण रुपमा सञ्चालनमा गर्नुपर्ने अथवा पूर्ण रुपमा बन्द गरेर समुद्री नाकाबाट सामान ल्याउन पाउनुपर्ने व्यवसायीहरुको माग छ । भन्सार नाका पूर्ण रुपमा सञ्चालनमा नआउँदा व्यवसायीहरु धेरै मर्कामा परेको नेपाल-चीन उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोकका अध्यक्ष जाङ्बु शेर्पाले बताए ।

अहिलेसम्म स्याउ र केही रेडिमेड कपडा मात्रै आएको छ । यही गतिमा सामान आउने हो भने अहिले व्यापारिहरुले खरिद गरिसकेको समान आउन एक वर्ष लाग्‍नसक्ने तातोपानी भन्सार सुक्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए । यद्यपि स्वास्थ्य सुरक्षा मापदण्ड परीक्षणका रुपमा रहेकाले थोरै मात्रामा सामान आयात भइरहेको उनले बताए । उनले समान ढुवानी बढाउन आफूले चिनियाँ पक्षसँग लगातार छलफल गरिरहेको पनि बताए ।

आयातित सामग्री पूर्ण क्षमतामा ल्याउन आफूहरु मन्त्रालयस्तरबाटै छलफलमा रहेको पनि खत्रीले बताए । नाका पूर्ण रुपमा सञ्चालनमा आए दैनिक करोडौं राजस्व संकलन हुने र रोजगारीको अवसरसमेत बढ्ने भएकाले नाकालाई चाँडो पूर्ण रुपमा सञ्चालन गर्नुपर्ने देखिन्छ । (बाह्रखरी )