चेन्नई सुपर किङ्सलाई १० विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लियो

काठमाडौं – साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

सारजाहमा गएराति सम्पन्न खेलमा चेन्नई सुपर किङ्सलाई १० विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।

चेन्नईले दिएको १ सय १५ रनको लक्ष्य मुम्बईले १२ ओभर २ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।

मुम्बईको जितमा इशान किशनले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै क्विन्टन डी कक ४६ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो ।

चेन्नईका लागि साम करणले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ्स खेले । इमरान ताहिर १३ रनमा अविजित रहे ।

यस्तै कप्तान महेन्द्र सिंह धोनीले १६ रन जोड्दा सार्दुल ठाकुरले ११ रन बनाए । खराब ब्याटिङ गरेको चेन्नईले मात्र २१ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाएको थियो ।

चेन्नईलाई सस्तैमा समेट्न मुम्बईका ट्रेन्ट बोल्टले ४ विकेट लिए । राहुल चाहर र जस्प्रित बुम्राहले २/२ विकेट लिए ।

कल्टर निलको नाममा १ विकेट रह्यो । जितसँगै मुम्बईले १० खेलमा ७ जितसहित १४ अंक जोडेको छ ।

यस्तै मुम्बईले चेन्नईसँग सिजनको पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ ।

सिजनको पहिलो भेटमा चेन्नईले मुम्बईलाई ५ विकेटले हराएको थियो । चेन्नईले भने ११ खेलमा ६ अंक जोडेको छ ।

यस्तै आईपीएल इतिहासमा १० विकेटले पराजित हुने चेन्नई पहिलो टिम समेत बनेको छ ।

आईपीएल