कर्णाली प्रदेश सरकाले उपकरण पठायो तर जनशक्ति पठाएन

सुर्खेत – कोरोना संक्रमण वृद्धिभएसँगै कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा पनि सुधार भएकोे छ । पहिलेको तुलनामा प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार भएको हो । प्रदेशका सबै जिल्लामा आइसियु र भेन्टिलेटर सहितको स्वास्थ्य सेवा उपलब्ध गराउने उद्दश्यले प्रदेश सरकारले डोल्पा बाहेकका सबै जिल्लामा आइसियु र भेन्टिलेटर उपलब्ध गराएको छ ।

 

डोल्पामा पनि अबको केहि समयमा उपकरण जडान गरी प्रयोगमा ल्याउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका कार्यालय प्रमुख डा. सिजन रावलले बताए । तर उपकरण उपलब्ध गराएपनि प्रयोग गर्ने दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर र आइसियु प्रयोगमा ल्याउन समस्या भएको सम्बन्धित स्वास्थ्य कार्यालयहरुले जनाएका छन् ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहका अनुसार भेन्टिलेटर र आइसियु प्रयोगमा ल्याउनको लागि तालिम प्राप्त दक्ष जन शक्ति चाहिन्छ । ‘हामीलाई समस्या भनेको दक्ष जनशक्तिको हो ।, ‘उनले भने, ‘आइसियु र भेन्टिलेटर संञ्चालन गर्नको लागि विषशेज्ञको आबश्यक पर्छ । अहिले हामीले यहाँको जनशक्तिलाई प्रयोग गरेका छौ ।’ साथै तालिम प्राप्त दक्ष जनशक्ति उपलब्ध गराउनका लागि प्रदेश सरकारलाई अनुरोध गरेको उनको भनाई छ ।

जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डाक्टर निरन्जन पन्त भन्छन्, ‘आइसियु तथा भेन्टिलेरमा मेडिकल अफिसर मात्र नभएर विषशेज्ञ आवश्यकता पर्छ ।  त्यसको अभाव हामीलाई पनि परेको छ । हामीले यहिका दुईजना नर्सिङ स्टाफलाई तालिम दिएका छौ ।’ उनले थपे, ‘हाल आइसियुमा उनीहरुले नै काम गरिरहेका छन् । तर भेन्टिलेटर सञ्चालनमा समस्या छ । उनका अनुसार आइसियु संचालनका लागि जनशक्ति भए पनि भेन्टिलेटर संचालनमा अप्ठेरो परेको हो ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार सुर्खेत र जुम्लामा आवश्यक जनशक्ति छन् । भेन्टिलेटर र आइसियु उपलब्ध भएका ४ वटा जिल्ला अस्पतालका एक जना डाक्टर र दुईजना स्टाफ नर्सलाई क्रिटिकल केसको तालिम दिसकिएको छ । अब बाँकि चार जिल्ला अस्पतालमा दशै पछाडी तालिम दिने तयारीमा रहेको उनको भनाई छ ।

 जिल्ला अस्पतालमा कहाँ कति आइसियु र भेन्टिलेटर ?

जिल्ला अस्पताल दैलेखमा २ भेन्टिलेटर र ५ आइसियु संख्या छ भने जिल्ला अस्पताल जाजरकोटमा १ भेन्टिलेटर २ आइसियु रहेको छ । यसैगरी जिल्ला अस्पताल सल्यानमा १ भेन्टिलेटर र २ आसियु, जिल्ला अस्पताल रुकुम पश्चिममा १ भेन्टिलेटर र २ आइसियु, जिल्ला अस्पताल हुम्लामा २ भेन्टिलेटर र ५ आइसियु, जिल्ला अस्पताल मुगुमा १ भेन्टिलेटर र २ आइसियु, जिल्ला अस्पताल कालिकोट २ भेन्टिलेटर ५ आइसियु संख्या रहेको छ ।

यस्तै, प्रदेश अस्पताल सुर्खेतमा १० भेन्टिलेटर र २५ आइसियु, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ भन्टिलेटर १० आइसियु, चौहरजहारी अस्पताल रुकुम पश्चिममा ४ वटा आइसियु रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।