तिम्रो ठाउँमा तिमीलाई नै भेटिनँ राइझुमा !

 

बाजकली घर काँ हो तम्रो बैऽऽऽस भरिऽऽऽयाकी !!

म तऽऽऽ राइझुमा, झुऽऽऽमा क्या मस्क्याकि छ हो? राइझुमा।

नेपालमै चर्चित, सुदूरपश्चिमेलीको पहिचानसँग जोडिएको गीत। त्यसमाथि अछामी परिवेशको लय तथा शब्द संकलन गरी ५० सालतिर अछामी गायक यज्ञराज उपाध्यायले गाएका।

यस गीतमा एक दशकपछि दाङकी गायक कोमल वलीले स्वर दिएर दोहोरीको रूपमा ल्याइएको थियो। मैले पनि देशका धेरै ठाउँमा आफूलाई सुदूरपश्चिमको हुँ भनी पहिचान दिने क्रममा र विदेशमा समेत नेपाली संस्कृतिको नमूना प्रस्तुत गर्दा यही गीत गाएको छु।

गीत दिमागमा होइन दिलमै बसेको छ। बच्चैदेखि यो गीत सुनिरहँदा लाग्थ्यो राइझुमा अछामतिरकै हुन्। उनी को होलिन्? कहाँ होलिन्? कस्ती होलिन्?

वर्षौंपछि राइझुमाको अछाम आएको छु। अछाम आएर धेरै ठाउँ खोजिसकेँ तिमीलाई। तर राइझुमा, तिम्रो भूमि अछाममा तिमीलाई नै भेटिरहेको छुइनँ। तिम्रो बारेमा कल्पना मात्र गर्न सक्छु।

तिमी कति चुलबुले र सुन्दर थियौ होला। जति सुन्दर तिमी थियौ होला, त्यति नै सुन्दर यो गीत बनेको हुनुपर्छ, तिम्रो अछाम पनि त्यति नै सुन्दर रहेछ। तिमीलाई नियाल्न नपाए पनि तिम्रो अछामलाई नजिकबाट नियालिरहेछु।

हुन त राइझुमा, शरद ऋतु चलिरहेछ। यसपालि मनसुन अलि ढिलै भए पनि बिदाइ भएर गइसक्यो। पानी पर्न रोकिइसक्यो। घाम प्यारो लाग्न थालिसक्यो। रंगीबिरंगी पूतली नाच्न सुरू गरिसके। थरीथरीका फूल फक्रिन थालिसके। गोदावरी र सयपत्री त आँगनभरी फूलेकै हुन्थे, अहिले त कतै भुइँफूल, कतै वनमारा, कतै तिल, कतै मार्से फूलेर रंगीचंगी छ अछाम।

राति जुन पनि टहटह लाग्छ। आकाशभरी ताराको बिस्कुन देखिन्छ। एकाबिहानै बारीतिर निस्किँदा माकुराको जालोमा शीत टल्किरहेको देख्छु। त्यै माकुरी जालमा किरा अल्झिएझैं अछामको सुन्दरतामा म अल्झिएको छु।

उत्तरतिर जेठी बहुरानी र सैपाल हिमाल सेताम्मे देखिन थालिसके। त्यतै उत्तर चीनबाट फैलिन सुरू भएको कोरोना भाइरस सारा संसार भ्रमण गरिसकेर नेपालमा पनि तीव्र गतिमा फैलिएर कुल संक्रमित संख्याको हिसाबले चीनलाई नै उछिनिसक्दा यातायात र आवागमन सामान्यतर्फ अग्रसर भए पनि कोरोनाको कहर जारी छ।

अर्कोतिर दसैं, तिहारजस्ता चाडवाडको आगमनले जनजीवन असामान्य बनाउन थालेझैं लाग्छ। राइझुमा, तिमीलाई त कोरोना संक्रमण भएको छैन नि!

हुन त दसैं, तिहार नजिकिँदै गर्दा मौसम त्यसैत्यसै रमणीय लाग्छ। प्रकृति खुलेको, नजर यताउता डुलेको र त्यसमै मन भुलेको हुनाले होला जता हेर्‍यो उतै रमाइलो छ।

त्यसमाथि आधाभन्दा बढी जमिन ३०–४० डिग्री भिरालो भएर चिटिक्क मिलेको अछामको भूगोल। भूगोलमा खुलेको प्रकृति। उफ्! मनै फुरुंग हुन्छ। सायद, तिमीलाई भेटेको भए पनि राइझुमा, तिम्रोभन्दा बढी अछामकै प्रशंसा गर्थेँ होला।

कतै झरना छङछङ् गर्दै झरेका, कतै छहरा छर्छराउँदै खसेका। कतै आफैं बनेका, कतै बनाइएका तिरतिरे धाराहरू कलकलाइरहेका छन्। कैलाश खोला, बुढी गंगा र कर्णाली नदीको बेग र रफ्तारको कुरै नगरौं। चार दशकपछि अघिल्लो महिनामात्रै केही जिन्दगी, हजारौं हेक्टर धानखेत र करोडौंको सम्पत्ति बगाएर बितण्डा मच्चाएको थियो एउटै कैलाश खोलाले।

समुद्री सतहबाट ५४० मिटरदेखि ३,८२० मिटरसम्मको उचाइको विविधताका कारण असोज सकिन लाग्दा कतै धान काटिसकिएको छ, कतै काटिँदैछ, कतै भने हरियै। अलि बढी गर्मी हुने साँफेबगरमा त भदौमै काट्न थालिएको थियो। अधिकांश अरू ठाउँमा पनि काटिसकिएको छ। समग्र जिल्लाभर बारीमा धानको, आँगनी र कतैकतै बाटो छेऊछाऊ मकै, कोदो, भट्मासको बिस्कुनले यहाँको कृषिप्रधानताको चित्रण गर्छ।

अछाममा तिमी त देखिदैनौं राइझुमा, आक्कल झुक्कल नौमुठे गाई देखिन्छन्। यस्तो लाग्छ, उनीहरू आफैं आफ्नो विज्ञापन सानो स्वरमा गरिरहेछन्, ‘यार ! म त संसारकै सानो र यहाँको आनुवांशिक गाई हुँ। एकपटक हेरी त देऊ।’

कतै नौ ‘फिट’का भैंसी पुच्छरले हिलो छ्याप्दै आहालमा लडिबुडी गरिरहेछन्। बाख्राका भने बगालै भेटिने, दसैं नजिकिदै गएकाले पनि होला। कतै बँदेलले खेतबारी सखापै पारेको दुखेसो आउँछ, कतै चितुवाले त्रसित बनाएको गुनासो।

कतै गराका डिल आलीमा मासैमास, कतै उधूमै भट्मास। कतै उखुका ठाना (झाङ्), अधिकांश स्लेटका छाना। चील कौवाको कावा, कर्णाली किनारको हावा। ढकारीको मह, कति राम्रो वाह वाह। रामारोशनका मकै र अम्बा। जिल्लाभर ऐतिहासिक देवल र चौखम्ब।

चौरपाटीका केराबारी, तुर्माखाँदतिरका सुन्तलाघारी। गाउँका महिलाको पिठ्युँमा अन्नको भारी। सहरका महिलाको फूलबुट्टे सारी। भारतबाट फर्किएका हजारौं बेरोजगारी। दरबन्दीभन्दा आधै कम सरकारी कर्मचारी। कोरोनाका कारण थलिएका व्यवसायी र व्यापारी।

चौरपाटीको सिउँडी सोकटदेखि ढकारीको बलातासम्मै र मेल्लेखको ऋषि दहदेखि तुर्माखाँदको भुलु रहफसम्मै भेटिन्छन् कतै गिट्टी कुट्दै गरेका महिला, कतै धान चुट्दै गरेका पुरुष अनि कतै मकै पोल्दै र भुट्दै गरेका बालबालिका।

 

कतैकतै बाध्यताका कारण बम्बईका लागि छुट्दै गरेका जवानीहरू। कतै विकास, शान्ति र सुशासनका लागि जुट्दै गरेका हातहरू। विद्यालय लामो समय क्वारेन्टिनमा परिणत भएका कारण बन्द भएकाले गाँवैपिच्छे सडकमा, धान काटेका खेतमा भेटिने क्रिकेट र भलिबल खेल्न मस्त युवा जमातहरू। सहरमा महंगो ब्रान्डेड र्‍याकेटका साथ बिहानीपख बाजी खेलिरहेका ब्याडमिन्टन खेलाडीहरू।

अछामको यो सारा सौन्दर्य, जनजीवन, संस्कृति, यथार्थ देख्दा मन त्यसै मदहोस भएर भन्छ- ‘अछामका उकाली पनि झरौं, ओराली पनि चढौं।’

तिमीलाई कति थाहा छ, राइझुमा! कमलबजारमा स्थापित २० किलोवाट क्षमताको वायुऊर्जाका दुइटा पंखाहरू स्वागत गरिरहेछन् राष्ट्रिय विद्युत प्रसारण लाइनलाई। मुन्तिरको कमलबजार एअरपोर्ट पनि कुनै दिन नियमित जहाज चलेर आफ्नो इज्जत र प्रतिष्ठा बढ्ने आशमा छ। निर्माण सुरू भएको १२ वर्ष पुगिसक्दा पनि निर्माणाधीन अवस्थामै रहेको ऐतिहासिक मंगलसेन दरबारले इतिहासै रचिसक्यो।

दरबारका इँट्टा इँट्टा भन्दा हुन्, ‘यति समय पाएको भए त शाहजहाँले ताजमहलै बनाइसक्ने थिए।’

तर पनि अछामबासी दरबार चाँडै पूरा हुने आशमा छन्।

कुल १,६९२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सुदूरपश्चिमी पहाडी जिल्ला अछाम। अछामका ४ नगरपालिका र ६ गाउँपालिकासहित दस स्थानीय तह। दसै स्थानीय तहका ९१ वडा। ९१ वडाका ४८ हजार ३१८ घरधुरी। ती सबै घरधुरीको २ लाख ५७ हजार ४७७ जनसंख्या।

थाहा छैन राइझुमा, जनगणना हुँदा तिमीलाई जनसंख्यामा समेटिएको थियो कि थिएन? अघिल्लो जनगणनामा नसमेटेको भए आउँदो जनगणनामा समेट्न भन्नेछु। सो जनसंख्यामध्ये पनि केही मानिस अरू सहरमा होलान्। केही अरू नै जिल्लामा। केही त अरू नै देशमा पनि छन्।

तर तिमी कहाँ छ्यौ, थाहा छैन राइझुमा।

यहाँ जति छन्, ती सबैको दैनिकी यही सुन्दर भूगोलमा विभिन्न आरोह अवरोहबीच चलिरहेछ।

सबै तस्बिरः गोकर्णप्रसाद उपाध्याय

(लेखक गोकर्णप्रसाद उपाध्याय जिल्ला प्रशासन कार्यालय, अछामका प्रमुख जिल्ला अधिकारी हुन्।) याे लेख  सेताेपाटीमा प्रकाशित छ ।