चाडपर्व नजिकिँदै गर्दा जाजरकोटका बजार सुनसान

 

जाजरकोट- हिन्दु नेपालीहरुको मुख्य चाडपर्व नजिकिँदै गर्दा जाजरकोटका मुख्य व्यापारिक क्षेत्रहरू सुनसान देखिएका छन् । दसैँ, तिहार, छठलगायतका ठूला चाडपर्व नजिकिँदै गए पनि जिल्ला सदरमुकाम खलंगा लगाएत प्रमुख व्यापारिक बजारमा चहलपहल कम देखिएको छ । विगतका वर्षहरूमा दसैँ नजिकिएसँगै भिड हुने बजारमा यस वर्ष कोभिड–१९ संक्रमणको जोखिमका कारण सुनसान रहेका हुन।
जिल्ला सदरमुकाम खलंगाका केही पसल खुलेको देखिए पनि अधिकांश पसल बन्द भइसकेका छन । कोरोना भाईरसका कारण यतिबेला जाजरकोटका स्थानीयहरु त्रसित भएका छन । गत बर्षको तुलनामा जिल्लाका बजारी केन्द्रहरुमा सामान खरिद गर्न जानेहरूको संख्या न्यून देखिएको भेरीमालिका दैनिकमा सामाचार प्रकाशित भएकाे छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को प्रभावले बजार पसल सुनसान बनेका हुन् । किनमेल गर्नेको चहपहल हुने व्यापारिक क्षेत्रमा सामान खरिद गर्ने ग्राहक जान डराउने गरेका छन् भने उपभोक्ताको क्रयशक्ति पनि घटेको छ ।

 

दसैंअघि लत्ताकपडा तथा खाद्यान्नसहित सवारीसाधन र मोबाइललगायतका इलेक्ट्रोनिक्स सामग्री किनमेल गर्ने प्रचलन रहेपनि यस वर्ष बजार सुनसान देखिन्छ । अघिल्ला वर्ष बजार पसलमा ग्राहकको बढी नै भीडभाड लाग्ने गरेको थियो । तर यसपटक बजार खुला भएपनि कोरोना भाइरसको प्रभावले ग्राहक नै नआउँदा व्यापार हुन नसकेको व्यवसायीको भनाइ छ ।

 

प्रत्येक वर्ष चाडपर्व नजिकिँदै गर्दा ग्राहकहरुको सामान किनमेल गर्ने भीडभाड लाग्ने गरेको थियो । तर यो वर्ष कोरोना भाइरसले गर्दा आम्दानी नहुँदा सामान किनमेल गर्ने ग्राहक नै नभएको व्यवसायी भक्त बहादुर शाहीले बताए । जाजरकोट बाणिज्य संघका अध्यक्ष कर्ण बहादुर खत्रीले कोरोना भाइसले व्यापारमा ठूलो असर परेको बताए । होलसेल पसलमा सामान्य व्यापार भएपनि खुद्रा पसलमा कारोबार शून्य रहेको उनले बताए ।

उनले भने‘ जाजरकोटका ब्यापारीहरु अहिले मारमा छन ।’‘चाडपर्वको बेला वर्षभरीको व्यापार हुने सिजन हो ।’‘ यो वर्ष कोराना भाइरसले गर्दा व्यापार नहुँदा व्यवसायीलाई प्रत्यक्ष असर परेको छ ।’‘सरकारले जारी गरेको लकडाउन, निषेधाज्ञाले जिल्लका ब्यावसायिहरु लामो समय सम्म बन्द भएकाले ब्यापारी मर्कामा परेको उनको भनाइ छ । सरकारले जारी गरेका हरेक लकडाउन ब्यापारीमा मात्र असर देखिन्छ । पहूँचवालाहरु पास बिनै जथाभाबि हिड्दा कोरोना नलाग्ने कुनै ब्यापारीले पसल खोल्दा कोरोना लाग्ने ? जुनसुकै हालतमा पनी ब्यापारीहरुनै मारमा परेको उनको आरोप छ ।

प्रत्यक बर्ष चाडपर्वमा व्यापारिहरुले सामान विकाउन विभिन्न अफर योजना ल्याउने गरेता पनी यो वर्ष भने ब्यापारीहरु आफै निरास भएका छन ।
कोरोनाले गर्दा निकै प्रभावित भएको यो क्षेत्र व्यापार हुने सिजनमा पनि कारोबार नहुँदा धेरै नै असर पारेको स्थानीय ब्यापारी कृष्ण वलीले बताए । दसैं तिहारको बेला धेरै व्यापार हुने गरेको बताउँदैे उनले यो वर्ष कोराना भाइरसले सामान खरिद नै गर्न नआएको बताए । चाडपर्वको सिजनमा पनि व्यापार नहुँदा व्यवसायीहरु धमाधम ब्यापार बन्द गर्दै गाउँ र्फकिन थालेका छन । दसैंलाई लक्षित गरेर ल्याइएका सामान समेत बिकृ नहुदा समस्या परेको व्यवसायीहरुको भनाई छ ।

 

काठमाण्डौं नेपालगञ्जबाट सिजनअनुसारको सामान ल्याए पनी ग्राहक नहुदा थन्क्याउनु पर्ने बाध्यता रहेको ब्यापारीहरुको गुनासो छ । जिल्लामा ६ महिना कोरोना भाइरस कोभिड १९ बन्दाबन्धीका कारण ५० देखि ८० प्रतिशतले व्यापारमा कम भएको व्यवसायीहरुको गुनासो छ ।