सजाय कम हुदा बलात्कार बढ्दो

बलात्कारको घटना बढ्नुमा प्रविधिको हात

बलात्कारका घटना बढ्नुमा प्रविधिको पनि हात रहेको छ । बतात्कारका घटनाका बारेमा कानून अध्ययन गरिरहेका विद्यार्थीहरुको भनाई जस्ताको त्यस्तै  :

अहिले देशका विभिन्न ठाउँमा बलात्कारका घटनाहरु बढिरहेका छन् । यसले महिलालाई असुरक्षित बनाएको मात्र छैन, समाजलाई नै लज्जित बनाएको छ । समाजको कलंक बनेको बलात्कार जस्तो जघन्य अपराधमा कसरी कमि ल्याउन सकिन्छ भन्ने बारेमा कालिका मानव ज्ञान मावि बुटवलका कानूनका विद्यार्थीहरुको धारणा यहाँ प्रस्तुत गरिएको छ ।

घट्ना सामाजिकीकरण गर्नुपर्छ 

कमला पौडेल क्षेत्री
सामान्यतः बलात्कार भनेको कसैले कुनै महिलालाई मन्जुरी नलिई करणी गरेमा वा सोह् वर्षभन्दा कम उमेरकी बालिका करणी गरेमा बलात्कार भन्ने बुझिन्छ । अहिले हाम्रो देशमा दिनहुँ बलात्कारको घटनाहरु घटेको हामीले सुन्न पाइन्छ । सानो बालिकादेखि बृद्धसमेत बलात्कार हुन पुगेका छन् । तर विडम्बना देशका नेताहरुको कानमा फोहोर र आँखाहरु अन्धो भएको छ अनि केहि दाजुभाइको नजर चाहिँ आफ्नो दिदि, बहिनि, छोरी, चेली माथि नै अडिएको छ । यो युगमा पनि पुरुषको दृष्टिकोष महिलाले लगाएको छोटो लुगा र महिलाको अंग भन्दा पर जान सकेको देखिन्न । आज हामी महिला कतै सुरक्षित नभएका कारण डर र त्रासमा घरको चौघेरामा बस्नु परेको छ । तर विडम्बना हामीहरु घरमै असुरक्षित छौँ । बलात्कारको अन्त्य गर्ने पर्छ ।

बलात्कारको अन्त्यका लागि हामीले यौन दुव्र्यवहार तथा हिंसा गर्नेलाई सामाजिक बहिष्कार गर्नु पर्छ । यौन शिक्षा तथा जनचेतनाहरु फैलाउनु पर्छ । महिला सशक्तिकरण एवम् महिला हरु आत्मानिर्भर हुनुपर्छ । कुनै पनि बलात्कारका घटनाहरु लोभमा ढाकछोप नगरी सामाजिकीकरण गर्नु पर्छ दोषीलाई सजाय र पीडित लाई न्याय दिनु पर्छ । बलात्कार गर्नेलाई देशमा कडा भन्दा कडा सजाय दिनुपर्छ जसले गर्दा हाम्रो समाजमा अर्को बलात्कारी जन्मिने छैन ।

अपराध विरुद्ध चेतना जगाउनु पर्छ

प्रशंसा पाण्डे
बलत्कार मानवतामाथि उठ्ने ठूलो कलंक हो । यो एउटा क्रुर एवं राज्यद्वारा घोषित जघन्य अपराध हो । हाम्रो देशको सन्दर्भमा यो अपराध महिला तथा बालबालिकामा अधिकतम संख्यामा भएको पाइन्छ ।
बलात्कारलाई कम गर्नको लागि सर्वप्रथमतः महिला तथा बालबालिका विरुद्ध हुने अपराधका निम्ति कडा कानुन कानुन निर्मित गरेर त्यसलाई सही ढंगमा कार्यन्वयनमा पनि ल्याउनुपर्दछ । महिला तर्फ वा बालबालिकामा हुने यि अपराध ढाकछोप नगरी शून्य सहनशीलतामा राखेर प्रहरी प्रशासनबाट यसलाई सही रूपमा अनुसन्धान हुन दिनुपर्दछ प्रहरी प्रशासनबाट निष्पक्ष स्वतन्त्रता रुपमा गरिएको अनुसन्धानमा राजनैतिक क्षेत्रबाट हस्तक्षेप गरेर अपराधीलाई मुक्त गराउनु हुँदैन । यस्ता निर्ममअपराधको विषयमा गाउँमा गएर चेतना जगाउनु आवश्यक देखिन्छ । कतिपय बलात्कृत व्यक्तिहरु सरोकारवाला निकायमा उजुरी गर्नु हुँदैन ।

यदि यसो गरेमा इज्जतमा दाग लाग्छ भन्ने सोच राखेका हुन्छन् त्यसैले उक्त अपराध विरुद्ध चेतना जगाउनु जरुरी हुन्छ । त्यसैगरी बालबालिकाहरुलाई पनि सानै कक्षादेखि यौन शिक्षाका बारेमा हामीले जानकारी दिए उनीहरु पनि यस कुरामा सचेत रहन सक्नेछन् । यसैगरी हामीले महिला तथा बालबालिकालाई कसरी सुरक्षित रहन सकिन्छ भनेर आत्मरक्षाका कार्यक्रम दिएमा पनि उक्त घटनामा केही कमी ल्याउन सकिन्छ ।

बलात्कार घटनाले मन छियाछिया पर्छ 

वृक्षा थापा
विभिन्न पत्रपत्रिका र सामाजिक संजालमा दिनहँु आएका बलात्कार घटनाले मन छियाछिया पर्छ । यस्तो समाचारले मानवलाई एक पटक घोत्लिन विवश गराउँँछ । कलिला बलिकाको बलात्कारले समाजको एक पुरुष पात्र हुनुमा लाज लाग्दो बनाउँछ । सोच्छु, ती आमाबुबा कस्तो अवस्थामा हुनुहुन्छ होला ? दाजुभाइ को मनमा के कुरा खेलेको होला ? मामाहरु, काकाहरु, जस्ता सबै पुरुषको पात्रहरुको मनमा उब्जेको ती ताता सवालहरु कहिले सेलाउन सक्लान् ?

आजको समाजमा एक बोध बलिकामथि बलात्कार हुनु एक लाजको विषय हो । यो भन्दा लाजमर्दो कुरा अपरधि कानुनको दायरामा नल्याउनु हो । के हामी सधै एक चेली बलात्कृत भएको घटना सुन्दै अनि पीडित ले न्याय नपाएको हेर्दै बस्नुपर्ने हो ? आखिर कहिलेसम्म ? अब पनि हामी नेपाली जनताहरु एकजुट भएर आवज उठाउन सकिएन भनेपनि यस्तो घिनलग्दो घटनाहरु भैरहने छन् र अझ पनि कति बालबालिकाहरु बलात्कारिको सिकार हुन पुग्नेछ । आफ्नो परिवार र छरछिमेकि बाट पनि हामी डराएर र लुकेर हिन् पर्न हुनेछ । तेस्कारण अब हामी चुपचापले र डरले बस्नु हुदैन सबै मिलेर आवाज उठाउनु पर्छ । तब मात्र हाम्रो देशमा येस्तो घिन लाग्दो घटना हुने छैन बालबालिकाहरु खुला आकशको चरी जसरी उड्न सक्नेछन् ।

अपराध लुकाउन हुन्न 

अनमोल पन्थी
बलात्कार आफैमा एक जघन्य किसिमको अपराध हो । कानुन कागजमा जतिसुकै बलियो बनाए पनि जहिले सम्म यस्को कार्यान्वयन हुँदैन तबसम्म कानुन हुनु र नहुनुको खासै अर्थ राख्दैन । कानुनले बलात्कारलाई जघन्य अपराध भनेपनि बलात्कारी पैसा र पावरको भरमा छुट्ने परिपाटी निर्माण भएको छ जस्ले गर्दा बलात्कारीलाई आत्मबल वृद्धि भइ उस्ले यस्तो काम गरिरहन्छ ।
हाम्रो कानुनी व्यवस्था बलात्कारीको लागि अपर्याप्त छ ।

त्यसैले यस्को दायरा बढाएर यो अपराधलाई रोक्न सकिन्छ । बलात्कारका कयौं घटना सामान्य लेनदेन गरि गाउँमै सामसुम पार्ने अत्यन्तै गैरकानुनी अभ्यास बढ्दै गएको पाइन्छ । यस्तो काम नितान्त कानुन खिलाप मात्र नभई फौजदारी कानुनको सिद्धान्त बिपरित समेत रहेकोले मेलमिलापमा संलग्नलाई समेत कानुन बमोजिम दण्डित गर्नुपर्दछ । बलात्कार एक सामाजिक र गम्भीर मानवीय अपराध भएकोले यसलाई लुकाउन हुन्न,। कानुनको दायारामा ल्याउनु पर्दछ भन्ने जनचेतना फैलाउनु पर्दछ । बलात्कृत महिलालाई राज्यले समाजमा पुर्नस्थापित गर्ने योजना पनि ल्याउनु पर्दछ । बलात्कारमा संलग्न जो सुकैलाई पनि सामाजिक बहिष्कार गर्नुपर्दछ ।

बलात्कारको घटना बढ्नुमा प्रविधिको हात
बिबिषा भण्डारी
विगत केही समयदेखि लगातार आइरहेका बलात्कार सम्बन्धी समाचारहरूको पृष्ठभूमिमा हाम्रो समाज केही सूचकका हिसाबले कति निकृष्ट रहेछ त्यो देखिरहेको छ । साढे तीन वर्षका नानि समेत गरेर गत आर्थिक वर्षमा १२ सय ४४ महिलाको बलात्कार सम्बन्धी उजुरी परेको सरकारी तथ्यांक छ । बलात्कार छोटो कपडा लगाएर अबेलासम्म घरभन्दा बाहिर भएर हुने होइन । यो सब एक बाहना मात्रै हो ।

बलात्कृत हुन बाहिर जानु पर्दैन आफ्नै घर र बाबुले छोरीलाई, दाईले बहिनिलाई ,शिक्षकले विद्यार्थीलाई , छोराले आमालाई बलात्कार गरेको पनि धेरै घटना बाहिर आएका छन् । बलात्कारको घटना बढ्नुमा प्रविधिको पनि ठुलो हात छ । अहिले हर घरमा इन्टरनेट मोबाइलको सुविधा छ । प्रविधिको राम्रा र नराम्रा पक्षहरु छुट्टाउन नसक्दा पनि यस्ता घटना धेरै बढेका छन् । अश्लील भिडियो हेर्नाले पनि मान्छेमा यस्तो सोच उत्पन्न गर्छ । अशिक्षित परिवार ,खराब सोच, खराब संगठन हुनाले पनि यस्ता घटना बढेका छन् । नसालु पदार्थको सेवन, प्रविधिको दुरुपयोग गर्नाले पनि अपराधहरु बढ्छन् ।

यसको अन्त्य गर्नका लागि अश्लिल भिडियोमा प्रतिबन्ध लगाउनुपर्छ । नसालु पदार्थ सेवन गरेमा कारवाही गर्नुपर्छ । बलात्कारीलाई कडाभन्दा कडा सजाय दिनुपर्छ । शिक्षामा कमी आउन दिनुहुँदैन । पुलिस व्यवस्थापन कडा गराउनुपर्छ । समाजमा समानताको भावना जगाउनु पर्छ ।

सकारात्मक र सकिय भुमिका निर्वाह गर्नुपर्छ

बिनिता न्यौपाने
बिहान सबेरै उठेर समाचार हेर्न खोज्छु तर बिभिन्न पत्रपत्रिका र सामाजिक संजालमा दिनहुँ आएका बलात्कारका घटनाले मन छिया छिया पार्छ, सायद एउटी नारी भएकै कारणले पनि होला । आजको समयमा एक अबोध बालिका माथी बलात्कार हुनु लज्जाको विषय हो अझ त्यो भन्दा पनि लज्जास्पद विषय भने पिडकलाई कानुनको दायरामा ल्याउन नसक्नु हो । म सोच्छु, ती आमाबुबा कस्तो अवस्थामा होलान ? दाजुभाइ, काका, मामाहरुका मनमा उब्जेका ती ताता सवालहरु कहिले सेलाउने होलान् ? समाजले कस्तो ब्यवहार गर्ला ?

नेपालको बर्तमान अवस्थामा केन्द्रदेखि स्थानीय तहसम्म सुरक्षा ब्यवस्थापन गर्ने निकायहरु तैनाथ छन् तर यहाँ भने निर्मला पन्तदेखि लिएर सम्झना बिक जस्ता हजारौं चेलीहरु सुरक्षित छैनन् । दिनहुुँ बलात्कारका घटनाहरु सुन्नमा आइरहन्छन् । यस्तो अवस्थामा हामिले कसैलाई बिश्वास गर्न सके अवस्था समेत रहेको पाइदैन । हजुरबुबाले नातिनीलाई, बाबुले छोरीलाई ,४ बर्सिय बालिकादेखी ७२ बर्सिय हजुरमा पनि बलात्कारका शिकार भैरहेका छ्न । तर सरकारले भने आवश्यक कदमहरु चालेको छैन । सरकार ब्यस्त छ त प्रदेशको राजधानी तोक्नमा अनि हामिले नै तिरेको करबाट बनाएका कुर्सीहरु तोड्नमा !

अब यस्ता घटनाहरुलाई दोहोरिन नदिनका लागि विद्यालय स्तरबाट नै छात्र एवम् छात्रालाई भिन्न भिन्नै यौन शिक्षा प्रदान गर्नु आवश्यक रहेको छ । विद्यालयमा छात्राहरुलाइ अनि समाजमा महिलाहरुलाई आत्मरक्षाका तालिमको ब्यवस्था गर्नुपर्ने देखिन्छ । परिवारका सदस्यले पनि आफ्ना बालबालिकालाई सानैदेखि यौन हिंसा एबम बच्ने उपायहरुका बारेमा पनि जानकारी गराउनु पर्दछ । बलात्कृत नारी पनि लाज भन्ने शब्दलाई हटाएर समाजको डरबाट माथि उक्लेर आफ्ना समस्याहरु प्रहरी प्रसासनलाई भन्न हिच्किचाउनु भने हुँदैन । सरकार र राज्यका विभिन्न अङ्गहरुले बलात्कारका लागि छुट्टै प्रभावकारी कानुन तर्जुमा साथै उपयुुक्त ढंगले कार्यान्वयन गर्नमा समेत संबेदनसिल बन्नु पर्दछ । कडा कानुनको ब्यवस्था, निस्पक्ष छानबिन एबम महिलामैत्री उजुरी प्रकृया बनाउन सकेमा अपराध न्यूनीकरण गर्न सकिन्छ । साथै पीडित र पीडितका परिवारलाई मनोसामाजिक परामर्श दिनु पनि जरुरी छ ।

अन्त्यमा, समाजमा यस्ता घटना हुन नदिनका लागि हामी सबैले आ–आफ्नो क्षेत्रबाट सकारात्मक र सकिय भुमिका निर्वाह गर्नुपर्छ । हिंसामा परेका बालिका तथा महिलाहरुलाइ आलोचना नगरी पीडितका परिवारलाई सहयोग गर्न अगाडी बढौ । बरु कालै आएर लगोस मलाई तर बलात्कारका घटना अब पनि मैले सुन्न नपरोस ।